Loading

काठमाडौं/स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका छन् ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्रको व्यवस्था गरेर खोप लगाउने व्यवस्था मिलाइने उनको भनाइ छ । यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाउन थालिने उनले जानकारी दिए। सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ ।
बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको उनको भनाइ छ । नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने निर्णय यसअघि नै गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ ।