![]()
टीकापुर । भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ (सेनाध्यक्ष) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त भएका छन् ।
स्थल सेनापति रहेका यिनै नरवणेले केही समय पहिले नेपालबारे विवादास्पद अभिब्यक्ति दिएका थिए । त्यही अभिब्यक्तिका कारण उनी भारतीय सेनाको सेनापति नियुक्त भएको धेरै समयपछि मात्र नेपाल आएका थिए ।
नेपाली सेना र भारतीय स्थल सेनाको सेनापति नियुक्त भए लगतै एक अर्को देशको मानार्थ सेनापति ग्रहण गर्ने पुरानै प्रचलन रहिआएको छ । नेपाली सेनाको मानार्थ सेनापति ग्रहण गर्न नेपालमा उनी त्यही कारण ढिलो गरी मात्र आएका थिए । त्यसबेला पनि उनको आलोचना निकै भएको थियो ।
उनको अभिब्यक्तिका बिषयमा भारतीय सेनामा कार्यरत नेपालीहरुले पनि आपत्ति जनाएपछि उनले त्यसको खण्डन गर्दै सफाई दिएका थिए । उनले आफ्नो नेपाल र नेपाली जनताप्रति उच्च सम्मान रहेको भन्दै सम्बन्ध सुधार गरेका थिए ।
रावतको निधनपछि दोस्रो वरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए । नरवणेको पदोन्नतिसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ ।
भारतीय सेनाका २७ औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ भएका छन् । भारतको पूणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध रहेका छन् ।
