![]()
डी. भण्डारी
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलन शनिबारदेखि सुरु भएको छ ।
सम्मेलनको नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौबाट भर्चुअल विधिद्वारा उद्घाटन गरेका हुन् । उनले एकसाथ ७ भौगोलिक र २ गैरभौगोलिक प्रदेशको प्रथम सम्मेलनको एकसाथ उद्घाटन गरेका हुन् ।
यसैबीच सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीस्थित ऋद्धिशिद्धि प्यालेसमा शुरु भएको छ । अधिवेशनमा प्रदेशका ९ वटै जिल्लाबाट र अन्य गरी १ हजार १ सय ४७ प्रतिनिधी सहभागि भएको माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष शरदसिंह भण्डारीले बताए।
उनले सुदूरपश्चिम प्रदेश सम्मेलनको एकसाथ भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रको सुदूरपश्चिमको अवस्था बारे जानकारी गराए । प्रदेशका ९ वटै जिल्लामा ८० हजार ४ सय २७ जना संगठित सदस्यहरु रहेको बताए । जिल्लहरुमा नेपालकै सबैभन्दा बढी २८ हजार ५ सय ४३ सदस्यहरु कैलाली जिल्लामा रहेको बताए ।
यस्तै प्रदेशमा १ जना प्रतिनिधि सभा सदस्य, ३ जना राष्टिय सभा सदस्य र १३ जना प्रदेश सभा सदस्य रहेको र १० वटा पालिकाहरुमा पार्टीले बिजयी भई नेतृत्व गरेको बताए । उनले प्रदेश सरकार पनि नेकपा माओवादीको नेतृत्वमा रहेको र पछिल्लो नेकपाको विभाजनले नेता कार्यकर्तामा कुनै फरक नपारेको बताए ।
अध्यक्ष भण्डारीले सुदूरपश्चिम प्रदेशमा १ उपमहानगरपालिका, ३३ वटा नगरपालिका र ५४ वटा गाउँपालिका रहेकोमा बझांगको हिमाली गाउँपालिका बाहेक सबै स्थानमा पालिका स्तरीय सम्मेलन भएको बताए । दुई पालिकाको नतिजा आउन बाँकि रहेकोमा हिमाली क्षेत्रमा हिउँ परेर चिसो बढेका कारण सम्मेलन गर्न नसकिएको बताए ।
सम्मेलनले दुई सय २३ जनाको निर्वाचित कमिटि चयन गर्ने निर्वाचन समितिले जनाएको छ । समिति चयन गर्दा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र १५ प्रतिशत युवालाई अनिवार्य समावेसन गरिनुपर्ने प्रावधान रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा अध्यक्षका लागि केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्जहरु नेपबहादुर चौधरी, बिना मगर, विरमान चौधरी, प्रदेश अध्यक्ष रहेका शरदसिंह भण्डारी, सचिव देवीलाल चौधरी र नरेन्द्र कुँवर लगायतको चर्चा बढी रहेको छ ।
अधिवेशन पछि माओवादी लोकतान्त्रिक पार्टी भएको प्रमाणित हुने प्रदेश इन्चार्ज खगराज भट्टको भनाइ छ । प्रदेश अधिवेशनपछि माओवादी नयाँ उर्जाका साथ अघि बढ्ने भट्टको विश्वास छ ।
भट्टका अनुसार प्रदेश अधिवेशनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने छ। तर, कसैलाई आफ्नो इच्छा दवाउने गरी नभई सर्व मान्य तरिकाले सहमतिको प्रयास गरिने बताउँदै उनले त्यसो नभए लोकतान्त्रिक प्रणाली अनुसार अघि बढ्ने बताए ।
