Loading


धनगढी, २५ मङ्सिर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको प्रदेश सम्मेलन उद्घाटन गरेका छन् ।

शनिबार प्रचण्डले एकसाथ नौ प्रदेशकै अधिवेशन काठमाडौंबाट उद्घाटन गरेका हुन् । प्रचण्डले सात भौगोलिकसहित अन्य दुई प्रदेशको सम्मेलन भर्चुअल माध्यमबाट संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन सत्रमा सातवटै प्रदेशका अध्यक्ष, उपत्यका र विशेष प्रदेशका अध्यक्षहरुले प्रदेशमा पार्टीको स्थिति र योजना सम्बन्धी जानकारी गराएका थिए । यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ लगायतले पार्टीको नीति र वैचारिक विषयमा प्रदेश सममेलनलाई जानकारी गराए ।

उद्घाटन सत्रमा अन्य पार्टीका नेताहरु नभएपनि केही सञ्चारकर्मीहरुको भने सहभागिता रहेको थियो । विचविचमा हरेक प्रदेशबाट जनवादी कलाकारहरुले गीत, नृत्य लगायतका साँस्कृतिक झलक प्रस्तुत गरेका थिए । बन्द सत्र सबै प्रदेशमा आइतबार(भोलि) बिहान ९ बजे शुरु हुनेछ ।

माओवादी केन्द्रले प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, बागतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन गरेको हो । अधिवेशनले प्रदेशमा नयाँ कमिटी गठन गर्नेछ ।

माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव, कोषाध्यक्ष गरेर नौ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।