Loading

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित बहुउद्देश्यीय भवन उद्‍घाटन

बुटवल /प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उहाँले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिनुहुँदै भवनको समुचित प्रयोग गर्न उपयुक्त कार्यबिधि निर्माण गरी संरक्षण एवं सम्वर्दन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सीमित साधन स्रोतका बाबजुद उत्कृष्ट प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘नागरिकलाई प्रदान गर्ने सेवामा कुनैपनि सम्झौता गर्न सक्दैनौ । प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशिल हुनुपर्छ ।’ महिला तथा बालबालिका विरुद्ध हुने हिंसामा शून्य सहनशिलता अपनाई पीडित महिला एवं बालबालिकाहरूले पाउनुपर्ने सद्‌भावपूर्ण व्यवहार एवं परामर्श र पीडकहरूले पाउनुपर्ने सजायको निम्ती कटिबद्ध हुन उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा FCDO (Foreign, Commonwealth and Development Office), UK का प्रतिनिधि डा. करुणा वन्त र प्रोजेक्ट मेनेजर कोमल कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राम दत्त जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । FCDO को सहयोगमा UNOPS अन्तर्गत Modernization and Improvement of Policing Project (MIPP) आयोजनाबाट कूल ७ करोड ७६ लाख ६३ हजार २ सय ३२ रुपैयाँ ८१ पैसा लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, लुम्बिनी प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

यसैगरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संघीय प्रहरी ईकाई कार्यालय भैरहवा रुपन्देहीमा बिहीबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवल, दङ्गा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासी, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम), जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुखहरु तथा मातहत विभिन्न प्रहरी ईकाईका प्रमुखहरुलाई समसामहिक बिषयमा निर्देशन समेत दिनुभयो ।

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समाजमा हुने आपराधिक कृयाकलाप लगायत महिला तथा बालबालिका विरुद्ध हुने अपराधमा थप संवेदनशील भई जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । कानुन कार्यान्वयनको सिलसिलामा कुनैपनि सम्झौता गर्न नहुने बताउँदै उहाँले संगठनले लिएको नीति एवं कार्ययोजनाप्रति कटिबद्ध रहन समेत बताउनुभयो ।

डाँका मुद्दाको फरार प्रतिवादी पक्राउ
मोरङ, २ मंसिर/डाँका मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका-७ बस्ने ५६ वर्षीय टंक नारायण चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०७३ चैत ७ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ७४ हजार ५ सय ५० रुपैयाँ सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
दाङ, २ मंसिर/राप्ती गाउँपालिका-१ भालुबाङ बजारबाट ८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४५ वर्षीया निर्मला चौधरी र ४० वर्षीय नरेन्द्र बहादुर जिसी रहेका छन् । ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले निर्मलालाई ७ ग्राम ७ सय मिलिग्राम र नरेन्द्रलाई ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु
काठमाडौं, २ मंसिर/जुम्ला, चन्दननाथ नगरपालिका-४ स्थित सडकमा क.१ ह ३११४ नम्बरको अटो आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार कैलाली टिकापुर नगरपालिका-१ बस्ने ३५ वर्षीया अनिता चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, शम्भुनाथ नगरपालिका-५ मोहनपुरस्थित सडकमा रोकी राखेको ना.५ ख ८०१० नम्बरको बसमा प्र.२-०१-००१ प २९७१ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका-१ कविलासा बस्ने २८ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, पिपरा गाउँपालिका-३ शिवचोकस्थित सडकमा प्रदेश २-०२-००३ प-१६५० नम्बरको मोटरसाइकल र ज.८ प.४८१९ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर बुधबार साँझ दुर्घटना हुँदा प्रदेश २-०२-००३ प.१६५० नम्बरको मोटरसाइकलमा सवार मठिहानी नगरपालिका-१ धिरापुर बस्ने ४० वर्षीय महेश्वर साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुबै मोटरसाइकल चालकको रामजानकी हस्पिटलमा उपचार भइरहेको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-८ सेउतीस्थित सडकमा को.१ ब २४३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल वतन नखुलेका ३९ वर्षीय सन्तोष बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु हो ।
कैलाली, कैलारी गाउँपालिका-१ हसुलियास्थित सडकमा ग.७ प.३३८० नम्बरको मोटरसाइकल र डल्लब गाडी एक-आपसमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय सोलोचन महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र डल्लब चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, बंगलाचुली गाउँपालिका-५ दमदमेछेडास्थित बंगलाचुली भ्यूटावर जाने बाटो जेसिबिले मर्मत गर्ने क्रममा जमिन भासिएर जेसिबि करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका-१० नारायणपुर बस्ने २२ वर्षीय सुनिल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
सर्लाही, बरहथवा नगरपालिका-९ मुर्तिया कुशुमचोकस्थित सडकमा ना४ ख ७५२२ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय रामबहादुर गुरुङको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवन हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न ४ जना फरार अभियुक्तहरू पक्राउ
मोरङ, २ मंसिर/बुढीगंगा गाउँपालिका-६ बस्ने धनकुटा पाख्रीवास नगरपालिका-४ घर भएका २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ बस्ने २४ वर्षीय ईश्वर लिम्बु, सोही ठाउँ बस्ने २० वर्षीय सुदिप उराउ र १८ वर्षीय किशोर रहेका छन् ।
गत कात्तिक २८ गते राति धारिलो हतियार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु
उदयपुर, २ मंसिर/उदयपुरगढी गाउँपालिका-६ दनुवारबेसीस्थित सडकमा प्रदेश नम्बर २-०१-००१ त १०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-९ गैरुन बस्ने ४० वर्षीय बौका सदाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त दुर्घटनामा घाइते भएका ट्याक्टरका चालक समेत २० जनामध्ये ३ जनाको जिल्ला अस्पताल उदयपुरमा र अन्य ८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं, २ मंसिर/भक्तपुर, मध्यपुरठिमी नगरपालिका-४ राधेराधे डेरा गरी बस्ने रामेछाप खाँदेवी गाउँपालिका-१ घर भएकी २७ वर्षीया विमला विक आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
रुपन्देही, देवदह नगरपालिका-११ सदवनियास्थित सडक छेउमा सोही नगरपालिका-१२ प्रगतिनगर बस्ने २५ वर्षीया दिलमाया श्रेष्ठ मगर बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।