Loading

काठमाडौं– सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ। 

शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए।

योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिक नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए।

‘अब चाहिँ उद्धारको पर्खाइमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ। त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टमा रहनु भएको छ’, उनले भने। परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९०६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो।