Loading

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। 

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा मूल्य बढाइएको निगमले जनाएको छ। निगमले जारी गरेको सूचना अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरिएको छ।

यता, हवाई इन्धन (आन्तरिक तथा बाह्य)मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्धि गरिएको छ। निगमका अनुसार बढेको मूल्य अनुसार अब पेट्रोल, प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ। यता, डिजेल र मट्टितेल प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। 

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९६ तथा बाह्य प्रतिकिलोलिटर अमेरिकी डलर ८५३ पुगेको छ। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १ हजार ५०० सय रुपैयाँ पुगेको छ। यस मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ६४ तथा एलपी ग्याँसमा प्रतिसिलिण्डर ४२० रुपैयाँ ७५ घाटा रहको निगमले जनाएको छ। 

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार निगमलाई ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार निषेधाज्ञाको समयमा भएको विकी परिमाणलाई आधार मान्दा १५ दिनमा मात्रै करीब ११५.२२ करोड घाटा हुने अवस्था देखिएको निगमले जनाएको छ। 

निगमको घाटा निरन्तर रही नै रहने तथा अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने कम नरोकिने हो भने आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने वाध्यता आउन सक्ने जनाएको छ।