![]()
काठमाण्डौ । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्र सङ्घका पूर्वअध्यक्ष एवम् भारतीय कम्युनिस्ट पार्टी सीपीआई का नेता कन्हैया कुमार आज औपचारिक रूपमा कांग्रेस पार्टीमा समावेश भएका छन्।
कन्हैया कुमारसँगै गुजरातका युवा नेता जिग्नेश मेवाणी पनि कांग्रेसमा समावेश भएका हुन् । मेवाणी अहिले गुजरातको वडगाम सिटबाट निर्दलीय विधायक छन् । पार्टी प्रवेशपछि कन्हैया कुमारले भने, ‘केही व्यक्तिको हातमा यस देशको सत्ता कब्जा भएको र यस देशको भविष्य बिगार्ने कोसिस भइरहेको महसुस गर्दै म कांग्रेसमा जोडिएको हुँ ।’
भर्खरैमात्र कन्हैया कुमारले राहुल गान्धीसँग भेट गरेका थिए जसका कारण कन्हैया कुमार राहुल गान्धीको पार्टीमा समावेश हुने चर्चा चलेको थियो । कन्हैया कुमार कम्युनिस्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारबाट सदस्य थिए ।
कन्हैया कुमार बिहारको बेगूसरायसँग सम्बन्ध राख्छन् । सन् २०१९ को लोकसभा चुनावमा उनी बेगूसरायबाट चुनावमा उठेका थिए तर बीजेपीका गिरिराज सिंहले कन्हैया कुमारलाई ठूलो अन्तरले हराएका थिए । लोकसभा चुनावताका जिग्नेश मेवाणीले पनि बिहारमा कन्हैया कुमारको समर्थनमा प्रचार गरेका थिए ।
मिडिया रिपोर्ट्सका अनुसार चुनावी रणनीतिकार प्रशान्त किशोर सन् २०२४ को लोकसभा चुनावअघि यसरी सबैभन्दा पुरानो पार्टीलाई नयाँ रूप दिने कोसिस गरिरहेका छन् ।
