Loading

काठमाडौँ, ५ असोज । पूर्वसभामुख दमननाथ ढुंगानाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) अहिले अंशबण्डामा परेको बताएका छन् ।

मदन भण्डारीको जीवनमा आधारित पुस्तक ‘श्वेतशार्दूल’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,“अहिले त जबज पनि अंशबण्डामा परेको छ । अंशबण्डामा कता पर्ने हो थाहा छैन ।” उनले अहिले कम्युनिस्ट र कांग्रेस दुवै पार्टीमा विचारको संकट आएको भन्दै मदन भण्डारीले प्रतिपादन गरेको जबजल कम्युनिस्ट पार्टीलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग गरेको बताएका हुन् ।

मदन भण्डारीले ल्याएको जबज कम्युनिस्टका लागि मात्रै नभएको पनि उनले बताए । “जबज कम्युनिस्ट पार्टीका लागि मात्रै थिएन । जबजले कम्युनिस्टलाई देशमा वैकल्पिक शक्तिका रुपमा स्थापित गर्‍यो,” उनले भने,“त्यसबेलाको परिवर्तनमा नेताको पूर्ति मदन भण्डारीले गर्नुभएको थियो । हामीलाई मदन भण्डारी र जबज मात्रै पुग्दैन, अझै नयाँ मदन भण्डारी चाहिएको छ ।”

उनले देशमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि जननेता मदन भण्डारी जस्तो नेता जन्मिन नसक्दा जनताले दुःख पाएको बताए ।
“हामीले यत्रो परिवर्तन गर्‍यौँ तर जनतासँग जोड्न सकेनौँ । पञ्चायतकालमा जस्तै टुँडिखेलमा बन्दुक पड्काएर एउटाले संविधान दिवस मनाउँदा अर्कोले बहिस्कार गर्छ,” उनले भने,“म सभामुख हुँदा मदन भण्डारी र केपी शर्मा ओलीजीको राम्रो सल्लाह आउँथ्यो । संविधान त्यसबेला पनि उत्कृष्ट थियो । तर, असन्तुष्टिहरुलाई मूलधारमा नल्याएसम्म संविधान पूरा हुँदैन ।”

कांग्रेस नेता समेत रहेका ढुंगानले २०४७ सालको संविधान आउँदा २७ बुँदे असहमति दर्ता गरेर पनि चुनावमा भाग लिएको स्मरण गरे ।
“मदन भण्डारी त्यसबेला २७ वटा असन्तुष्टि दर्ज गरेर असहमति जनाए पनि चुनावमा भाग लिएर संसदीय प्रतिस्पर्धामा सहभागी हुनुभयो,” उनले भने,“तर, उहाँले पदलाई प्राथमिकता दिनु भएन । बरु मनमोहन अधिकारीलाई दिनुभयो ।”

उनले मदनको जस्तै फेक्सिविलिटी आजको कम्युनिस्ट पार्टीमा चाहिएको भन्दै कम्युनिस्ट पार्टी र लोकतन्त्रमा नै चुनौती रहिरहने बताए । उनले संविधान कहिल्यै पूर्ण नहुने भन्दै त्यसलाई संशोधनमार्फत पूर्ण बनाउन सकिने भएकाले त्यसतर्फ दलहरुले ध्यान पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए ।