Loading

काठमाडौं । मंगलबार शुरु भएको नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीको बैठकमा पेस भएकाे १३ पेज लामो राजनीतिक प्रतिवेदनमा नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई प्रमुख दुश्मन किटान गरेको छ । केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको भन्दै समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको दाबी गरेकाे छ । नेपालको राजनीतिक प्रतिवेदनमा एमालेले अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृति बोकेको दक्षिणन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच बोकेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएकाे छ, ‘केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहकांरी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो । जनताको आशामा तुषारपात भयो । केपी ओलीको कारणले नेकपाको एकता भाँडियो र उनकै कारणले नेकपा (एमाले) को एकता पनि तोडियो । परिणामस्वरूप संसदमा उनले बहुमत गुमाए ।’ अध्यक्ष नेपालले एमाले एकताका लागि भएको १० बुँदे सहमतिलाई प्राविधिक भन्दै त्यसले कुनै समस्या समाधान नगर्ने बुझेरै आफूहरुले विद्रोह गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यो गठबन्धनलाई प्रतिनिधिसभाको पूर्ण कार्यकाल जोगाएर चुनावसम्म लैजानुपर्ने प्रस्ताव नेपालको छ । अध्यक्ष माधव नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा आगमी निर्वाचनसम्म अहिलेको गठबन्धनलाई कायमै राख्ने बताइएको छ । उनले प्रतिवेदनमा भनेका छन्, ‘वाम लोकतान्त्रिक समिकरणमा सामेल राजनैतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भएता पनि यिनीहरूले लोकतन्त्रको रक्षा गर्ने र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर मोर्चाबन्दी गरी सहकार्य गरिरहेका छन् । यस मोर्चाबन्दी र सहकार्यलाई कम्तिमा पनि प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने र स्थानीय तहसम्म पु-याउनुपर्ने आवश्यकता छ ।’