Loading

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेको स्पष्ट पारेकी छन् ।

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् । ‘म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन’, मुख्यमन्त्री शाक्यले भनिन् ।

आगामी दिनमा संविधान अनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् । मुख्यमन्त्री शाक्यले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउने बताइन् ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुरुप आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेत्री शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताए ।

उनले एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । बैठकमा प्रदेशसभा सदस्यले सरकारले र पार्टीले आगामी दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए ।