Loading

जनकपुर, १६ भदौ / जसपाबाट अलग भएर दर्ता भएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यले आज सनाखत गरेका छन् ।

बुधबार जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टी रोजेका प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यहरुले निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् । निर्वाचन आयोगले नयाँ दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई भदौ १ देखि भदौ २२ सम्मको समयावधि दिएको छ ।

लोसपाको पक्षमा जसपा छोडेर ११ जना प्रदेशसभा सदस्यहरुले आज सनाखत गरेका छन् । बाँकी रहेका प्रदेशसभा सदस्यहरुले बिहिबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए ।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनरायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेको उनले बताए ।

जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले बिहिबार सनाखत गराउने जनाइएको छ । लोसपाले अझै केही प्रदेशसभ सदस्यहरु आफू तिर आउने सम्भावना रहेको भन्दै यकिन संख्या बताउन अझै केही समय लाग्ने नेता सोनलले बताए ।

लोसपा कुल १५ जना प्रदेशसभा सदस्य रोज्न सक्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

प्रदेश २ को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेको थियो ।