Loading

नेकपा एमालेले पार्टी विभाजनको धक्का सातवटा प्रदेशमध्ये सबैभन्दा बढी सुदूरपश्चिममा भोग्नुपर्ने देखिएको छ।  सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ सांसदमध्ये माधव नेपालनिकट अधिकांश नेकपा एकीकृत समाजवादीको पक्षमा देखिएका छन्।  

प्रदेश सभामा विगतमा १७ जना नेपाल र सातजना केपी ओली पक्षमा थिए।  अहिलेसम्म तीनजनाले मात्र नेपालको साथ छोडेको एक सांसदले बताएका छन्।  यद्यपि केही सांसदले कता जाने भन्ने निर्णय गरिनसकेको बताएका छन्। 

विगतकै विचार समूहलाई निरन्तरता दिएर जानुपर्छ भन्ने पक्षमा धेरै सांसदको मत रहेको एकीकृत समाजवादीमा लागेका सांसद अमर साउदले बताए।  ‘विगतमा हामी प्रतिगमनका विरुद्ध एक ठाउँमा थियौँ।  त्यो एकता कायम राखेर जानुपर्छ भन्ने धेरै माननीयको मत छ,’ साउदले भने, ‘विगतको एकता कायम राख्ने प्रयास गरिरहेका छौँ। ’  

पहिला नेपाल समूहमै रहेका प्रभावशाली नेता भीम रावलको संसदीय दलमा बलियो पकड थियो।  भीम रावलको नेतृत्वमा नेपाल समूहका सांसदहरू गोलबद्ध थिए।  मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने पार्टीको निर्णय उल्लंघन गर्दै रावलकै अगुवाइमा नेपाल पक्षका १७ जनाले विश्वासको मत दिएका थिए।  तर ,नेपालको साथ छोडेपछि प्रदेश सभामा रावल कमजोर देखिएका छन्।  निकट सांसदले साथ छोड्न थालेपछि प्रदेशमा रावल एक्लिएको विश्लेषण गर्न थालिएको छ।  

रावलका विश्वासपात्र पूर्वमन्त्री माया भट्टले नेपाललाई साथ दिएकी छिन्।  रावलनिकट एमाले कैलालीका अध्यक्षसमेत रहेका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी पनि नेपालतिरै लागेका छन्।  सुदूरपश्चिमको एमाले राजनीतिमा प्रभाव राख्ने सोडारी केही सांसदलाई आफूसँगै लैजाने क्षमता राख्छन्।  आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी पनि नयाँ पार्टीमा लागेकी छिन्।  

भट्ट र जोशी एमाले समाजवादीको केन्द्रीय सदस्य बनेका छन्।  भट्ट बैतडी र जोशी डोटीबाट समानुपातिक सांसद हुन्।  पूर्वमन्त्री कृष्णराज सुवेदी समाजवादीमै लाग्ने पक्षमा छन्।  रावलकै पहलमा सुवेदी यसअघि सामाजिक विकासमन्त्री बनेका थिए।  एमाले कञ्चनपुरका अध्यक्षसमेत रहेका तारा लामा तामाङ समाजवादीमा लागेका छन्।  ‘हामी अहिलेसम्म माधव नेपाल टिमकै मान्छे हो।  कता जाने भनेर अरू साथीहरूसँग पनि छलफल गर्छौँ,’ तामाङले भने। 

रावलको गृहजिल्ला अछामका बलबहादुर सोडारी पनि नयाँ पार्टीमा खुलेका छन्।  प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनपुरका लालबहादुर खड्का, अछामका एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गा कामी, कैलालीका सुशीला बुढाथोकी, कञ्चनपुरका कुलवीर चौधरी पनि नेपाल नेतृत्वको समाजवादीको पक्षमा रहेका बताइएको छ।  यद्यपि उनीहरूले छलफलमै रहेकाले निर्णयमा पुगिनसकेको बताएका छन्। 

‘विगतमा केपी ओलीले गरेको प्रतिगमनका विरुद्ध एक भएर लड्यौँ।  त्यसैलाई निरन्तरता दिनुपर्छ भन्ने धेरै माननीयको मान्यता छ,’ प्रमुख सचेतक कामीले भनिन्, ‘निकट कार्यकर्तासँग छलफल भइरहेको छ।  कार्यकर्ताको सुझाबका आधारमा निर्णय गर्छौँ।’ 

प्रदेश सरकारमा एमालेबाट चार मन्त्री र तीन राज्यमन्त्री छन्।  उनीहरू सबै विगतमा नेपालनिकट हुन्।  तीमध्ये एमाले केन्द्रीय सदस्यसमेत रहेका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले आफू एमालेमै रहने बताइसकेका छन्। यस्तै अछामका हर्कबहादुर कुँवर, पूर्वमन्त्री प्रकाश रावलले भीम रावललाई साथ दिएका छन्।  कुँवर रावलका भिनाजु नाता पर्छन्।  आफ्नो पक्षमा केही सांसद थपिने यो समूहका नेताहरूको दाबी छ। 

ओलीनिकट प्रदेश सभा सदस्य पठानसिंह बोहराले एमालेका धेरै सांसद पार्टी विभाजनको विपक्षमा रहेको दाबी गरे।  उनले केही दिनमै को कता जाने भन्ने यकिन हुने बताए।  अन्य १४ जना नेपालको पक्षमा लागेको अवस्थामा भने एकीकृत समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बन्ने छ।  हाल ५२ सदस्य रहेको प्रदेश सभामा माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जसपाका दुई सांसद छन्।