![]()
काठमाडौं, १० भदौ । विभाजन भई माधव नेपाल समूहले नयाँ पार्टीको प्रमाणपत्र हात पारेको भोलिपल्ट भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भए ।
पार्टी फुटेपछि प्रदेश १ मा एमालेको एकल बहुमत रहने नरहने टुंगो नलाग्दै उनी संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमत प्राप्त दलको संसदीय दलको नेताका रूपमा मुख्यमन्त्री बनेका हुन् ।
एमाले फुटाएर माधव नेपाल समूहले दर्ता गराएको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रदेश संसदीय दलका कति सदस्य जाने हुन् यकिन भइसकेको छैन । एमाले र जनता समाजवादी पार्टी विभाजनका लागि सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले पार्टी विभाजनको २१ दिनभित्र प्रदेश सदस्य र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था गरेको छ ।
प्रदेशसभा सदस्यहरूले दल रोजेपछि एमालेको संसदीय दल पनि विभाजन हुनेछ । संविधान अनुसार, सत्तारुढ दल विभाजन भएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैले एक महिनाभित्र मुख्यमन्त्री आचार्यले प्रदेशसभाको विश्वास आर्जन गर्नुपर्नेछ ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद थिए । तीमध्ये कति जना माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जाने हुन् त्यसले पनि मुख्यमन्त्री आचार्यको सरकारको आयु निर्धारण गर्नेछ । प्रदेशसभामा बहुमत प्राप्त गर्न ४७ सांसद चाहिन्छ । एमाले सांसद समाजवादी पार्टीमा खुल्ने क्रम बढेकाले बहुमत जोगाउन आचार्यलाई हम्मेहम्मे पर्नेछ ।
नवनियुक्त मुख्यमन्त्रीलाई भातृशोक
विराटनगर, १० भदौ । यसैवीच प्रदेश १ को मुख्यमन्त्री एवम् एमाले नेता भीम आचार्यलाई भातृशोक परेको छ। नेता आचार्यका सहोदर भाइ राम आचार्य आज बिहान घरमै मृत अवस्थामा फेला परेका हुन्।
सुनसरीको इनरुवा–३ महेन्द्रचोक निवासी ५६ वर्षीय आचार्य मृत अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाले बताए। प्रहरी टोली उनको घरमा पुगेको छ। आचार्य मृत भेटिएको कोठाको चुकुल भित्रबाट लगाइएको पाइएको बताइएको छ।
उनलाई मुधमेह, उच्च रक्तचाप र डिप्रेसनको पुरानै समस्या रहेको बताइएको छ। बिहान १०ः३० बजेतिर प्रहरीले घटना थाहा पाएको हो। घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ।
