![]()
काठमाडौं, २ भदौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।
नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिएका हुन् । एमालेमा केपी ओलीले गरेको व्यवहार, दुईदुई पटक संसद भंग गरेको तर, गल्ती स्वीकार नगरेको तथा संसद र संविधानका रक्षाका लागि पार्टी एकताको आवाज उठाएपनि सुनुवाई नभएकाले नयाँ पार्टी बनाउने निर्णयमा पुगेको एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल स्वयंम छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको नेता पाण्डेले जानकारी दिए । एमाले समाजवादीमा नवौं महाधिवेशनदेखि नेपाल समूहमा रहेका स्थायी कमिटीका अधिकांश नेताहरु भने अटाएका छैनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले नेता नेपालको साथ छाडेका हुन् ।
नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगेका नेता राजेन्द्र पाण्डे भन्छन्, ‘भोलि उहाँहरु कहाँ हुनुहुन्छ, भोलिका दिनले देखाउँला । आज उहाँहरु हुनुहन्न ।’ माधव नेपालले नयाँ दल बनाए साथ दिन्छु भन्दै आएका उपाध्यक्ष बामदेव गौतम पनि छैनन् ।
छिट्टै राष्ट्रिय सम्मेलन गर्ने र क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने नेता पाण्डेले बताए । उनले एमालेकै अलमलिएर रहेका नेताहरुलाई चाँडै उमाले समाजवादीमा आउन समेत आहृवान गरे । नेता नेपालले भने कुनै प्रतिक्रिया दिएनन् ।
सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् । नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीका सदस्यमध्ये ५८ जना रहेका छन् ।
एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिको नामावली

