![]()
धरान । बलात्कारको अभियोगमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पक्राउ परेका छन् ।
इटहरीकी एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा यादव पक्राउ परेका हुन् । गाउँपालिकामा जागिर लगाइदिने आश्वासन दिएर मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको अभियोगमा उनलाई इलाका प्रहरी कार्यालय धरानले बुधबार राति पक्राउ गरेको हो ।
गाउँपालिका अध्यक्ष सरकारी गाडीमा युवती राखी धरानतर्फ लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओली नेतृत्वको प्रहरी टोलीले अध्यक्ष यादवलाई पक्राउ गरेको हो । धरान उपमहानगरपालिका ४ स्थित साराङंगामा सञ्चालनमा रहेको डुकु होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।
अध्यक्ष यादवले युवतीलाई कार्यालयकै गाडीमा राखेर धरान ल्याइ ललाई फकाई गरी बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको उनले बताए । बलत्कारमा परेकी बालिकाका अभिभाकले बिहीबार जबरजस्ती करणी ऐन अन्तर्गत जाहेरी दिएपछि प्रहरीले मुद्धा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको छ । यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।
यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट भोक्राहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
