![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट केपी ओलीलाई हटाएको बताएका छन् ।
बिहीबार १५०औँं लेनिन जयन्ती तथा ७१औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पेरिडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसदीय दलको नेताबाट ओलीलाई हटाएको स्मरण गरेका हुन् । उनले भने, ‘हामीले आजको सिस्टमअन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट फालेकै हो । सबैले यो ध्यान दिन जरुरी छ । यो के भयो नेपालमा ?’
उनले भने, ‘हामीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौँ । गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै थियौँ । निकालेकै थियौँ पार्टीबाट वैधानिक ढंगले । आधिकारिक रुपमा कानुन सम्मत तरिकाले नै गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो ।’
त्यस्तै, प्रचण्डले माओवादी कमजोर नभएको बताएका छन् । उनल भने, ‘हामी कमजोर भएका छैनौँ । माओवादी आन्दोलन, नेकपा माओवादी कमजोर भएको छैन् ।’ उनले यसबीचमा कार्यकर्ताको मनोभावना बुझ्ने कोसिस गरिरहेको बताए । अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भएपनि एक तिहाइ लिएर बसेकाले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको आरोप लगाए ।
उनले आफूहरु नभएर अरुहरु पराजित भएको बताए । ‘जसले प्रतिक्रान्तीको बाटो हिँडे । जसको साथमा पार्टीको बहुमत थिएन । बहमुतमात्र होइन एक तिहाइ लिएर बसेकाहरु विदेशी शक्तिहरुको आडमा मात्रै उनीहरुले कानून मिच्ने, संविधान मिच्ने, सबै मूल्यमान्यता मिच्ने काम भएको छ’ अध्यक्ष प्रचण्डले भने ।
