Loading

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्ती र नियुक्तिप्रति आपत्ति जनाएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको हो। 

कांग्रेसले अघिल्लो सरकारको नियुक्तिलाई बदर गर्दै  फेरि सरकारले प्रदेश प्रमुखको बर्खात र नियुक्ति गर्नु गलत भएको भन्दै आपत्ति जनाएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति सार्वजनिक गर्दै सरकारको यो शैलीले प्रदेश प्रमुखको गरिमा घटाउँदै जाने भन्दै आपत्ति जनाएका हुन्। कांग्रेसले निर्वाचन घोषणा भएको अवस्थामा बर्खास्ती र नियुक्तितर्फ सरकार लाग्नु गलत र आपत्तिजनक भएको जनाएको हो। 

‘सरकारको सिफारिसमा २ नम्बर प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्सर्ना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो। आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ।’ 

कांग्रेसले यस्ता कदम अविलम्ब रोक्न सरकारलाई चेतावनीसमेत दिएको छ। उसले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम पश्चात काम चलाउ स्थितिमा पुगेको सरकारले नियुक्ति र बर्खास्ती गर्नु गलत भएको ठहर गरेको हो। 

‘संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न’, विज्ञप्तिमा भनिएको छ, ‘अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ।’