Loading

सर्लाही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज स्व डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको स्मृतिमा वृहत् श्रद्धाञ्जली सभा बिहिवार सम्पन्न भएको छ । हरिपुर नपाको वडा नं १ हजारबिगाहमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको जनबिरोधी तथा निरंकुशता विरुद्ध संघर्षको कार्यक्रम बाहेक अर्को विकल्प नभएको उनले बताए ।

उनले असंवैधानिक रुपमा गरिएको संसद विघटन र पार्टीका सर्लाही जिल्ला इन्चार्ज स्व. डाचाराज वाग्लेको रहस्यमय मृत्युको तत्काल छानबिन गरि दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाहीको जोडदार माग गरे । उनले भने, ‘ओलीको निरंकुश कदम र जनविरोधी कदम विरुद्ध लडने समय आएको छ ।’

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एउटा तनाशाहलाई फाल्न बिगतका दिनमा आन्दोलन गर्यौं र अब अर्को तनाशाहलाई फाल्न फेरी आन्दोलन गर्ने अवस्था आएको बताए । ओलीले चालेको कदम प्रजातान्त्रिक नभई संविधान विपरीत र जनभावना बिपरीत भएको उनले दावी गरे ।

नेकपाका प्रवक्ता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिले संविधानको उपलब्धी, मधेशी, जनजाती, महिला, दलित, थारु लगायत विभिन्न समुदायले पाएको अधिकार अहिले खतरामा भएको हुदाँ ति सबै अधिकार रक्षाका लागि पनि सबै नेपाली एकजुट हुने अवस्था आएको बताए ।

नेकपाका स्थाई कमिटी सदस्य तथा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेले भने, ‘बिगतका वर्षहरु २०१७ सालमा संसद विघटन भयो, गिरिजा प्रसाद कोईराला प्रधानमन्त्री भएको बेलामा संसद विघटन भयो, शेरबहादुर देउबा प्रधानमन्त्री भएको बेला संसद विघटन भयो, राजा ज्ञानेन्द्रको समयमा संसद विघटन भयो यी सबै घटना हेरेर हामिले प्रधानमन्त्रीलाई सजिलै संसद विघटन नगर्ने गरी २०७२ सालमा नेपालको संविधानमा कानुन बनाए तर पनि हुदै नभएको प्रावधान र मापदण्ड विपरीत संविधान मिचेर ओलीले असंवैधानिक संसद विघटन गरेर मुलुकलाई नै प्रतिगमन तर्फ धकेले ।’

सम्बोधनकै क्रममा नेकपाका केन्द्रिय सदस्य एवं पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले संसद विघटन भएपछि काम चलाउ सरकारले महत्वपूर्ण कार्य गर्न पाउँदैन तर पनि ओलीले मन्त्रीपरिषद विस्तार गरेर संविधान विपरीत काम गरेको उनले जनाए । पूर्व मन्त्री यादवका अनुसार काम चलाउ सरकारले मन्त्रीहरुलाई अनावश्यक रुपले जिल्ला जिल्लामा पठाएर राज्यको रकम दुरुपयोग गरेको छ । मुलुकमा केपी गुट र राप्रपा गुट बाहेक केपी ओलीको असंवैधानिक कदमको विरुद्धमा सबैले बिरोध गरिरहेको उनले बताए । अहिले केपी ओलीको कदम विरुद्ध नेपाली जनता एकजुट भएका छन् । अब न्यायालयका न्यायाधीशहरु न्याय मुर्ती छन् की छैनन् त्यो हेर्न मात्र बाकी रहेको बताउदै उनले भने, हामी कानुनी, राजनैतिक र अधिकारको लडाईमा छौँ, अब यो लडाई लडन लामै संघर्ष गर्नुपर्ने पुर्व मन्त्री यादवले जानकारी गराए ।

मन्तव्यका क्रममा जसपाका शिर्ष नेता एवं पुर्व सिचाइ मन्त्री महेन्द्र राय यादवले भने, ‘संघिय नेपाल बनाउनमा मधेशी जनताको अहम भुमिका रहेको छ । मधेश आन्दोलन नभएको भए नेपालमा संघियता आउदैनथ्यो, अहिले ति संघियता पनि खतरामा छ ।’ संविधान, संघियता र अधिकार रक्षाको लागि पनि मधेशी जनता देखी लिएर नेपालका सबै नागरीक एक ढिक्का भएर आन्दोलनको आँधी बेरी ल्याएर संविधान रक्षा गर्ने समय आएको नेता यादवले बताए । संविधानमा प्रतिनिधि सभाको निर्वाचन गर्न पाँच वर्ष पुरा भएपछि मात्र गर्न लेखिएको छ । तर संविधान मिचेरनै तिन वर्षमै चुनाव गर्नु भनेको ओली सरकारले देशलाई प्रतिगमन तर्फ धकेलको नेता यादवको आरोप थियो । संसद विघटन गरेर ओली सरकार जनभावना विपरीत कार्य गरेको नेता यादवले जनाए ।

गत माघ २१ गते साझ बरहथवामा पार्टीको मशाल जुलुसलाई सम्बोधन गरेर फर्कने क्रममा मुर्तिया जङ्गलमा डाचाराज वाग्लेको रहस्यमय मृत्यु भएको थियो । उनी नेकपाका सर्लाही जिल्ला इन्चार्ज थिए । नेकपाका दुवै अध्यक्षले संयुक्त रुपमा मूर्तिया चोक स्थित स्व। वाग्लेको शालिक निर्माणको शिलान्यास पनि गरेका हुन् ।

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र माधवकुमार नेपाल प्रमुख अतिथि रहेको श्रद्धाञ्जली सभाको अध्यक्षता भने नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले गरेका थिए । भने कार्यक्रमको उद्घोषण जिल्ला सचीव कमल बुढाथोकीले गरेका थिए । श्रद्धाञ्जली सभामा प्रचण्ड, नेपाल र खनाल गुटका जिल्ला तहका नेता एवं कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भब्य उपस्थिती रहेको थियो ।

 
12Shares
facebook sharing buttonShare