![]()
एजेन्सी । अमेरिकाको जर्जिया राज्यका उच्च निर्वाचन अधिकृत ब्राड राफेनस्पगरले राष्ट्रपति डोनाल्ड ट्रम्पले सरासर झुटो बोलेको बताएका छन् ।
ट्रम्पले जर्जियामा आफू विजयी भएको दाबी गर्दै त्यसका लागि चाहिने मत ‘खोज्न’ भनेका थिए । ट्रम्पले टेलिफोन संवादमा ब्राड राफेनस्पगरलाई आफ्नो जित प्रमाणित गर्नका लागि चाहिने ११ हजार ७८० मत खोज्न दवाब दिएका थिए । यसलगत्तै उनले ट्रम्पको सबै दाबी स्पष्ट रुपमा झुटे रहेको बताएका हुन् । जर्जियाको निर्वाचन जिम्मेवारी सम्हालेका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरसँगको टेलिफोन संवाद बाहिरिएपछि ट्रम्पको आलोचना थप तीव्र बनेको छ ।
ट्रम्पको टेलिफोन संवाद तथा नतिजा उल्ट्याउनका लागि दिइएको दवाब जर्जियाका दुई सिनेट रनअफ चुनावमा आफू विरुद्ध काम गर्ने डर केही रिपब्लिकनहरुमा देखिएको छ । जर्जियामा आज सिनेटका दुई सिटका लागि रनअफ चुनाव हुँदैछ । माथिल्लो सदन सिनेटको शक्ति सन्तुलनका लागि यो चुनाव अति महत्वपूर्ण छ । दुवै सिटमा जित निकाले डेमोक्र्याटले सिनेटमा पकड कायम गर्न सक्ने छन् ।
हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिफोन संवादमा नोभेम्बर ३ मा भएको चुनावको नतिजा उल्ट्याउनका लागि आवश्यक मत ‘खोज्न’ उच्च निर्वाचन अधिकारी राफेनस्पगरलाई ‘आदेश’ दिएका थिए । दुई महिनाअघि भएको चुनावमा ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका हुन्। बाइडेनले ३०६ तथा ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् ।
सो मत इलेक्टोरल कमिटिबाट प्रमाणिकरण भएको छ । अब सदनले पारित गर्ने तयारी छ । बाइडेनले जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् । तर ट्रम्पले बिना कुनै प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । उनी र उनको टिमले दायर गरेका सबै मुद्दाहरु प्रमाणको अभावमा अदालतले खारेज वा विपक्षमा फैसला गरेका छन् ।
जर्जियामा तीन पटक मतगणना भएको थियो, त्यसमा बाइडेन विजयी भएका थिए । ट्रम्पको टेलिफोन संवाद बाहिरिएपछि जर्जियाका मतदान प्रणाली कार्यान्वयन व्यवस्थापक गाब्रिएल स्टर्लिङ्गले सोमबार पत्रकार सम्मेलन गरि राष्ट्रपति ट्रम्पका सबै दाबी स्पष्ट रुपमा गलत र झुटो रहेको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले जर्जियाका बासिन्दाको चुनावी प्रक्रियामाथिको विश्वासलाई खण्डित बनाउने प्रयासमा लागेको उनले चेतावनी दिएका छन् । उनले आज हुने चुनावमा मतदान गर्न सबैसँग आग्रह पनि गरेको सिएनएनले जनाएको छ ।
