Loading

वीरेन्द्र रावल

भीमदत्तकी पत्नीले यो लेखक सँगको संवादमा भनेकी थिइन् : भीमदत्त त एउटा ब्राम्मणका घरमा जन्मेको चेलो (छोरा) थिए । समाजमा जातीय छुवाछुत र गरिब धनी बीचको विभेदको अन्त्य अनि सबैको गरी खाने जमिन होस् भन्ने परिकल्पना थियो । त्यो म साकार पारेर मात्र घर फर्किन्छु भनेर भनेका कुराले मैले चित्त बुझाएर घर धन्धा चलाएर बसेकी हुँ ।

आजभन्दा भन्दा ६७ वर्ष पहिले नेपालमा कृषि क्रान्तिको बिगुल फुक्ने महानायक भीमदत्त पन्तले अवलम्बन गरेको कृषि क्रान्ति उनले सोचेका सपना पुरा नहुँदा आज नेपाल र नेपालीले समृद्धीको बाटो समात्न सकिरहेका छैनन । सुदूरपश्चिमको डडेल्धुरा जिल्लाको कारी गाउँमा जन्मेर देश, जिल्ला र क्षेत्रवासीलाई सबैखाले उत्पीडन, अन्याय, अत्याचार, शोषण र दमनको जाँतोबाट अलग र स्वतन्त्र बनाउने कसम खाएर कृषि क्रान्तिमार्फत समाजको रुपमान्त्ररणका लागि उनले थालेको सशस्त्र आन्दोलनले तत्कालीन अवस्थामा सार्थकता नपाए पनि आज भीमदत्तले अवलम्वन गरेका बाटाहरू र सोचहरूको सान्दर्भिकता अत्तिकै आवश्यक देखिएको छ ।

नेपालको समृद्धि कृषि क्रान्तिबाट मात्रै सम्भव छ भन्ने कुराको ज्ञात हुँदाहुँदै पनि शासकहरूले भीमदत्त पन्तहरूका सोचलाई सार्थकतामा परिणत गर्ने सवालमा कहिल्यै पनि ध्यान नपु¥याएका कारण आज कृषि क्रान्तिका महानायक भीमदत्तहरू ओझेलमा छन् । भीमदत्तले समाजमा रहेका सबैखालका बिभेदको अन्त्य गर्ने र जमिनदारी प्रथाको अन्त्य गर्दै कृषि क्रान्तिमार्फत नेपाली जनतालाई शक्ति सम्पन्न बनाउने भन्ने सोचबाट अभिप्रेरित भएरनै शामन्ती व्यवस्थाका विरुद्धमा शसस्त्र आन्दोलन उठाएका थिए । नेपाली समाजलाई कृषि क्रान्तिमार्फत रूपान्तरण गर्नका लागि भीमदत्तले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लाबाट जनतालाई संगठित गर्दै सशस्त्र रूपले कृषि क्रान्तिको सुरुवात गर्ने कार्यहरूसमेत गरे ।

भीमदत्त पन्तले बाँझो जमिन खाली राख्न नहुने र समाजबाट नोकरशाह पुँजीवादको अन्त्य गर्नकै लागि पनि ‘कि जोत हलो, कि छोड थलो, होइन भने छैन भलो’ भन्ने अति नै आवश्यक र मार्मिक नारा त्यसै अगाडि सारेका थिएनन् होला । नेपाली समाजको रुपान्तरण कृषि क्रान्तिमार्फत मात्र सम्भव भएकाले धनीमानी हुने खाने महलमा बस्नेहरू जो जमिनका मालिक भएर पनि खेती योग्य जमिनलाई बाँझो राख्ने जून प्रवृत्तिको थियो त्यसको समूल अन्त्य गर्नका लागि पनि भीमदत्तले सशस्त्र रूपले कृषि क्रान्तिको थालनी गरेको देखिन्छ ।

भीमदत्त पन्तले सामन्ती राज्य व्यवस्था भित्रका सबैखाले सामाजिक, आर्थिक, सांस्कृतिक विभेदहरूको अन्त्यका लागि पनि जीवनलाई प्रवाह नै नगरेर आफ्नो अडानलाई कायम राख्दै अगाडि बढेका थिए । कृषि क्रान्तिका महानायक सहिद भीमदत्त पन्तको सपना साकार नहुँदै तत्कालीन अवस्थामा नेपाल सरकारको आग्रह र भारतीय प्रहरीको सहयोगमा भीमदत्त पन्त मितको घरमा बसेको अवस्थामा घरलाई घेरा हालेर २७ बर्षको युवा अवस्थामा २०१० साउन १७ गतेका दिन भीमदत्त पन्तलाई हत्या गरिएको थियो । हत्यापछि उनको मृत्त शरीर त्यहीं छाडेर डडेल्धुरा जिल्लाको हालको सदरमुकाम रहेको डडेल्धुरास्थित बागबजारको खुल्ला मैदानको टँुडिखेलमा लगेर बाँसमा टाउको झण्ड्याउने काम तत्कालीन अवस्थमा भएको थियो ।

नेपालमा राणाशासन व्यवस्थाको अन्त्य र प्रजातन्त्रको बहालीका लागि आन्दोलन थालेको नेपाली कांग्रेसले २००७ सालको क्रान्ति सफल पारेको अवस्थामा भीमदत्तले सशस्त्र क्रान्तिलाई पनि भित्रिरूपले सञ्चालनमा ल्याई रहनुभएको थियो । नेपाली कांग्रेसको सशस्त्र क्रान्ति लामो टिकेन, त्यो क्रान्ति भारतको आडभरोसामा परिचालित थियो । राजा त्रिभुवन अनि भारतसँगको सहमतिमा नेपाली कांग्रेसले तयार पारेका सेनाहरूलाई नेपालको सुरक्षाकर्मीसँग समायोजन गर्ने सर्तमा क्रान्तिले विश्राम लिएको देखिन्छ । त्यसपछि नेपालमा ०२७ सालमा झापाबाट सशस्त्र क्रान्तिलाई बामपन्थी पार्टीले पनि थालनी ग¥यो । त्यो पनि किसान र मजदुरको सहभागितामा थालिएको थियो ।

कृषि क्रान्तिले समाजका सबै खाले असमानताको अन्त्य, भूमिहीनलाई जग्गाका मालिक बनाउने र बाँझो जमिनलाई उत्पादनमूखि बनाउने धेयका साथ चलाएको क्रान्तिलाई बिचैमा तुहाउने योजना पञ्चायती शासकले भारतीय सुरक्षाकर्मीको बलमा स्वयं भीमदत्तका मितको घरमा बसेको अवस्थामा मितलाई आर्थिक प्रलोभनमा पारेर हत्या गर्ने कार्यहरू भयो । भीमदत्त पन्तको भौतिक शरीरलाई ढालिसकेपछि उहाँको बिचारलाई बोकेर हिँडने र क्रान्तिलाई अझ बलियो र संगठित बनाएर लैजाने पात्र तत्कालीन अवस्थामा अगाडि आउन सकेन । भीमदत्तले तयार पारेका सेनाहरू छिन्नभिन्न अवस्थामा परिणत बन्न पुगे । गाउँबाट विस्थापित भएका जमिन्दार, शोषक सामन्तहरू पुनः गाउँ फर्किए ।

गाउँगाउँमा हर्षबढाइ मनाउने कामसमेत भयो । तर त्यति बेला सहिद कृषि क्रान्तिका नायक भीमदत्तकी धर्मपत्नी पार्वतीदेवी पन्तलाई बागबजारको टुँडिखेलमा बाँसको टाँगोमा झुण्डाइएको भीमदत्तको टाउको हेर्नका लागि बोलाएर आमदिदीबहिनी र आमाहरूलाई कसैले पनि राज्य द्रोह वा सशस्त्र क्रान्ति गरेको खण्डमा भीमदत्तकै जस्तो अवस्था बनाइनेछ भन्ने उद्घोष पनि गरियो । सहिद भीमदत्तकी धर्मपत्नीलाई यस पंक्तिकारले ०५६ सालमा भीमदत्तको जन्मघर डडेल्धुराको कारी गाउँमा भेट्ने अवसर पाएको थियो । संवादका क्रममा पार्वतीदेवी पन्तले तत्कालीन राज्य व्यवस्थाका प्रतिनिधिहरूले दिएको मानसिक अनि भौतिक यातनाको वेलिविस्तार लगाइन । भीमदत्तको कृषि क्रान्ति र अवलम्बन गरेका सोचलाई पछाडीका पिंढीले अवलम्बन नगरेकोमा पार्वती पन्त निकै चिन्तित थिइन् ।

भीमदत्तकी पत्नीले लेखकसँगको संवादमा भनेकी थिइन् : भीमदत्त त एउटा ब्राहमणका घरमा जन्मेको चेलो (छोरा) थिए । समाजमा जातीय छुवाछुत र गरिब धनी बीचको विभेदको अन्त्य अनि सबैको गरि खाने जमिन होस् भन्ने परिकल्पना थियो । त्यो म साकार पारेर मात्र घर फर्किन्छुँ भनेर भनेका कुराले मैले चित्त बुझाएर घरधन्धा चलाएर बसेकी हुँ । सशस्त्र क्रान्ति गरेर मात्रै पनि कृषि क्रान्ति सफल नहोला तर शान्तिपूर्ण अनि पार्टीका कार्यक्रममार्फत पनि समाजका विपन्न, दमित र विभेदमा परेका मानिसहरू माथि उठ्न सके र न्याय पाउन सके मात्र मेरा पतिको सपना साकार हुने छ भनेर पनि सहिद पत्नीले मसँग बेलिविस्तार लगाएकी थिइन् ।

भीमदत्त पन्तले थालेको कृषि क्रान्ति कुनै विपन्न गरिब र सर्वहारा वर्गको अहितमा थिएन । थियो त केवल तत्कालीन शामन्ती राज्य व्यवस्था र समाजमा व्याप्त अन्याय, अत्याचारका विरुद्धमा । समाजलाई कृषि क्रान्तिमार्फत समृद्ध बनाउने लक्ष्य र उद्घोषका साथ सुदूरपश्चिमको थलोबाटा थालिएको क्रान्तिको ज्वालाले देशव्यापी रूप लिन नपाउँदै जब कृषि क्रान्तिको नाइकेको नै अवसान भयो यसले नेपालको समग्र कृषि क्रान्तिमाथि नै पूर्णविराम लगाएको देखिन्छ ।

त्यसपछिका दिनहरूमा विभिन्न राजनीतिक दलहरूले आन्दोलन वा व्यवस्था परिवर्तनका बेलामा लगाउने नारा भनेका खुबै क्रान्तिकारी भएता पनि त्यसले लिने आकार र ल्याउने परिवर्तनले न त समाजलाई रूपान्तरण गर्न सक्यो न त उनीहरूको आन्दोलनले सार्थकता नै पायो । क्रान्ति सोचले ल्याउने कुरा हो । क्रान्तिभित्र सशस्त्र युद्ध मात्रै हुन्छ भन्ने पनि होइन । रचनात्मक क्रान्ति पनि कृषि क्रान्तिको एक सबल पक्ष थियो र हुन्छ पनि । सहिद भीमदत्तले नत जमिनदारको सफाया गरे न त कसैका गाँस र बास नै खोसे । भीमदत्तमा पलाएको वैज्ञानिक सोचले जसको जोत उसैको पोत भन्ने मूल्य र मान्यतालाई स्थापित गर्ने र कुनै पनि जनताले भूमिहीन भएर बस्न नपरोस् भन्ने नै थियो । बाँझो जमिन राख्ने, जमिन ओगटेर बस्ने, विपन्न परिवारहरूलाई दासदासीको रूपमा प्रयोगमा ल्याइरहने र उनीहरूलाई जग्गाका मालिक हुन दिनु हुँदैन, उनीहरू कमाइगरी खान सक्ने भए वा उनीहरूसँग गरिखाने जमिन भयो भने समाजबाट दासत्वको जंजिर तोडिन्छन् भन्ने ठालुगरी, मुखियाली अनि जमिन्दारी प्रथामा रमेकाहरूका लागि भीमदत्त पन्त आँखाको तारो नै बन्नुभयो । तर, नेपाली समाजका लागि भूमिपुत्र, विपन्न गरिब सर्वहाराका नायकका रूपमा स्थापित हुँदै गइरहेको अवस्थामा जसरी भीमदत्तको कृषि क्रान्तिमा पूर्णविराम लगाइयो यसले सारा विपन्न भूमिहीनहरूका दिनदसा नै लागे र कृषि क्रान्तिको जग त्यसै बेला ढलेर समाप्त भएको देखिन्छ ।

अहिले नेपालमा न त पञ्चायती व्यवस्था छ न त प्रजातन्त्र नै । छ भने त्यो भन्दा पनि उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो पनि केवल कागजीरूपमा मात्रै । यति बेला कृषि क्रान्तिका नायक भीमदत्त पन्तले सोचेको परिकल्पनालाई बाम सरकारले साकार पार्ने दिसामा जून अग्रसरता देखाउनु पर्ने थियो त्यो देखिएन । सुदूरपश्चिम प्रदेश सरकारले पनि कमसेकम भीमदत्तले जसरी कृषि क्रान्तिमार्फत समाजलाई समुन्नत बनाउने सोच लिनुभएको थियो त्यो सोचलाई व्यवहारमा लागू गर्नका लागि संरचनागत रूपले कार्य थालनी गर्नुपर्ने थियो त्यो गरेको देखिएन ।

अन्य क्षेत्रले नगरे पनि कमसेकम सुदूरपश्चिमको प्रदेश सरकारले भीमदत्तको सोचलाई व्यवहारमा लागू गर्नका लागि भीमदत्त आधुनिक कृषि कार्यक्रम वा अन्य कुनै नामाकरण गरेरै भए पनि सुदूरपश्चिमको जल, जमिन र जंगलको आँकडा तयार गरेर भूमिहीनलाई जग्गाका मालिक बनाउने वा उनीहरूलाई के कसरी गरिखाने जमिनको बन्दोबस्त मिलाउने भन्ने बारेमा गुरु योजना बनाएर अगाडी बढ्न सक्नुपर्दथ्यो त्यो गरेको देखिएन । यसका साथ साथै सुदूरपश्चिमका हजारौँहजार युवाहरू कोरोना कहरको प्रवाह नै नगरेर काम र मामको लागि भारत पलायन हुने क्रम जारी नै छन् । दिनानुदिन ठूलो संख्यामा युवाहरू भारत पलायन भइरहेको अवस्था छ । कर्मयोगी हातहरू विदेशीका सडक, गल्ली र कारखानामा खियाउनुभन्दा स्वदेश र क्षेत्रमै व्यवस्थापन गरी सबैलाई कर्मशील, स्वरोजगार अनि समृद्धिको पथमा लम्कने वातावरणको सिर्जना गर्नका लागि ओझेलमा पारिएका भीमदत्त र कृषि क्रान्तिको मार्गलाई पकड्न नेपाल सरकार र प्रदेश हुँदै स्थानीय सरकारहरू लाग्नु नै भीमदत्त प्रतिको सच्चा सम्मान ठहरिनेछ ।

सौर्यबाट