Loading

काठमाडौं : विश्वव्यापी कोरोना संक्रमणका कारण नौ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खुलेको पहिलो दिन बुधबार एक हजार पाँच सय भक्तजनले पूजाआजा र दर्शन गरेका छन्। 

पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई खुला गरेपछि दर्शनार्थी पशुपति पुगेका हुन्।

कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेका अनुसार पहिलो दिन सुरक्षित ढंगले पूजाआजा र दर्शन गर्ने काम भएको छ। उनले भनिन्, ‘कोभिडका बाबजुद पनि पहिलो दिन एक लाख २१ हजार रुपैयाँ दक्षिणभेटीबाट संकलन भएको छ।’ 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेकी थिइन्। यसबीच, कोषका सदस्यसचिव डा. प्रदीप ढकालले मन्दिरबारेको दर्शन, पूजाआजा र स्वास्थ्य मापदण्ड आदिबारे सूचनामूलक जानकारी दिने डिस्प्लेको उद्घाटन गरेका छन्।