![]()
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता जोगाउन सधैँ पहल गर्दै आएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग फेरि कुरा हुने बताएका छन् ।
उनले पार्टीलाई विभाजनबाट रोक्न ओलीसँग पटक-पटक आग्रह गरेको र अझै प्रयास जारी राख्नेसमेत बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीसँग विवाद बढ्दै गएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बोलाएको अनौपचारिक बैठकमा सचिवालयका नाैमध्ये पाँचजना अर्थात् बहुमत सदस्य सहभागी थिए । करिब एक घन्टाको अनौपचारिक बैठकमा प्रवक्ता श्रेष्ठसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सहभागी थिए ।
अनौपचारिक बैठकले ओलीलाई सामूहिक भेटमार्फत केन्द्रीय सचिवालयको औपचारिक बैठक राख्न आग्रह गर्ने निष्कर्ष निकालेको छ ।
