![]()
नारानकुमार उपाध्याय
काठमाडौं । नीति, विधि र पद्धतिलाई तिलाञ्जली दिने पार्टी र सरकारको मूल नेतृत्वका कारण करीव दुई तिहाई बहुमतले आरामको सरकार सञ्चालन गर्ने युगीन अवसरलाई पनि सत्तारुढ नेकपाले राष्ट्र र जनताको पक्षमा अधिकतम काम गर्ने कालखण्डका रुपमा स्थापित गर्न चुकिरहेको छ । लगभग तीन वर्षे एकल सत्ता नेकपाको आन्तरिक कलह र झैझगडामा व्यतित हुँदा नेकपालाई मत दिने नागरिक र पार्टीलाई सत्तामा पु¥याउन अहोरात्र खटिने आम कार्यकर्तामा निकै निराशा र वैचैनी बढ्दो छ । तैपनि सत्तामा गएपछि पार्टी र जनता, पार्टीको नीति, विधि र पद्धति विर्सने रोगले मूल नेतृत्वलाई अझै छाडेको छैन । काम कुरो एकातिर विवाद झिकी विनासतिर गर्ने मूल नेतृत्वको अविराम चालाले कता लैजाला नेकपालाई ? यो आम कार्यकर्ताको टाउको दुखाइको विषय बनेको छ ।
नेकपा एमाले व्युँताउने वैमौसमी राग किन ?
नेकपाका दुई अध्यक्ष प्रचण्ड र के पी ओलीका बीचमा विहीवार भेटघाट भयो तर कुरा मिलेन । केपी ओलीले बुधवार प्रदेश एकमा आफ्नो गुटको भर्चुअल मिटिङमा पार्टी फुट्ने, पूर्व एमालेलाई एकतामा जोड गर्ने र जनताको वहुदलीय जनवादमा एकताबद्ध हुनका लागि भनेको कुरालाई प्रचण्डले आपत्ति जनाए । सचिवालय, स्थायी समितिको वैठक राख्न नमान्ने तर गुटगत वैठक र फुटको कुरा गर्ने कार्यप्रति प्रचण्डको आपत्ति थियो । तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समकक्षी प्रचण्डको आपत्तिलाई वास्ता गरिरहेका छैनन् ।
पार्टी कमिटीको वैठक राख्नै नचाहने, पार्टी वैठकले गरेका निर्णयहरु निरन्तर अवज्ञा गर्ने र उल्टै सरकारलाई पार्टीभित्रैबाट सहयोग भएन भन्ने प्रधानमन्त्री ओलीको दुःखेसो र गुनासो आफैं नाच्न नजान्ने आँगन टेढो देख्ने दृष्टिभ्रमका रुपमा मात्र रहेको घटनाक्रमहरुले देखाइरहेका छन् । वास्तवमा प्रधानमन्त्रीलाई सिङ्गो नेकपाको एकता जोगाउने र ठूलो कम्युनिष्ट पार्टीका रुपमा नेकपाले पाएको सत्ता अवसरलाई जनमुखी बनाउने चिन्ता र चासो हुनुको सट्टा पार्टी एकतापछि इतिहास बनिसकेको नेकपा एमाले व्युँताउने हुटहुटी देखिनुले प्रधानमन्त्री ओली एकता जोगाउने भन्दा बढी पार्टी फुटाउन आतुर देखिएका छन । यसले नेकपालको एकतालाई अरुले हैन, मूल नेतृत्वले नै संकटमा धकेलेको देखिदैंछ ।
राजीनामाको वेमौसमी राग
अहिले प्रधानमन्त्री ओलीको राजीनामा पार्टीभित्र वा बाहिरबाट कसैले पनि औपचारिक रुपमा मागिरहेका छैनन् । तर, अस्पताल उद्घाटनको कार्यक्रममा गएर प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिने, आफूले राजीनामा दिए देश वर्वाद हुने हास्यास्पद घोषणा गरेका छन् । चोरलाई चोरको खुट्टा काट भन्दा हत्त न पत्त उचाले जस्तो, प्रधानमन्त्री आफैले कसैले नमागेको राजीनामाको राग अलाप्दा प्रधानमन्त्री ओली नै अस्थिर बन्दै गएको प्रतित भएको छ । आफै बोक्सी आफै झाँक्री गर्ने यो प्रधानमन्त्रीको शैलीले जग हसाइ गरेको छ ।
वुधवार नै प्रम केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिने भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति पनि प्रचण्डले वुधवारको वैठकमा आपत्ति जनाएका थिए । तर, समकक्षी प्रचण्डको आपत्तिलाई पनि प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको पाइएको छैन ।
वैठक छल्ने किन र कहिलेसम्म ?
वुधवारको दुई अध्यक्षबीचको भेटवार्तामा प्रचण्डले सचिवालयको वैठक राख्न भन्दा केपीले मानेनन् । त्यसैले पार्टी मुख्यालय धुम्वाराहीमा शुक्रवार कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको वैठक धुम्वाराहीमा आयोजना गरे । प्रधानमन्त्रीले पार्टी कमिटी र वैठकहरुलाई अस्वीकार गर्ने प्रवृत्ति नछोडेपछि प्रचण्डले वैठकबाटै समाधान खोज्न आफैले सचिवालयको वैठक आयोजना गरेका हुन, भलै शुक्रवारको सचिवालय वैठकलाई अनौपचारिक संज्ञा दिइएको छ । तर, जुन पार्टीले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनायो, त्यही पार्टीको वैठक नमान्ने प्रधानमन्त्रीको प्रवृत्ति बिनासकाले विपरीत बुद्धि झै हुन पुगिरहेको छ । प्रधानमन्त्री नआउँदा र त्यसलाई ‘इगो’ को रुपमा लिंदा मन्त्री रहेका सचिवालय सदस्यलाई आउन नैतिक रुपमा पनि अप्ठ्यारो पारेको हुन सक्छ । यो परिस्थिति लामो समय रहनु हुँदैन ।
जो अगुवा उही बाटो……..
प्रधानमन्त्री समेतको निर्देशनमा कर्णाली प्रदेश सरकारमा नियोजित विवाद खडा गरेको स्पष्ट छ । तर, आफैले हानेको तीरमा व्याकफायर भएपछि पनि प्रधानमन्त्री ओली प्रतिशोधी हर्कतका लागि तयार देखिन्छन । कर्णालीमा चाल्ने स्टेपलाई हेरेर केपीले संघमा स्टेप चाल्ने उनी निकट स्रोतले बतायो । प्रचण्ड र माधव नेपालले मिलेर कर्णालीमा मन्त्रीमण्डल एकलौटी पुनर्गठन गरेमा प्रमले सङ्घमा त्यसको जवाफ दिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, बिना मगर, रामेश्वर राय यादव लगायतलाई निकाल्ने तयारीमा प्रधानमन्त्री पुगेका छन । त्यसको ठाउँमा हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साहसहितका टिमलाई मन्त्रीमा लैजाने योजना रहेको छ । यो तथ्यलाई गजुरेल, रायमाझी, पौडेल र साहले निरन्तर प्रधानमन्त्री ओलीको पक्ष लिंदै हिडेका घटनाक्रमहरुले पनि सिद्ध गर्दै आएको छ । आफ्नो निकट बनाएर मन्त्री छान्ने प्रधानमन्त्रीको रहर वा हठ प्रतिशोधको उदाहरण नै हो ।
प्रमुख सचेतक देव गुरुङलाई हटाउने ?
पार्टीको आन्तरिक कलहमा स्वस्थ र फरकमत राख्ने जो कोहीलाई ठेगान लगाउने तर आरती उतार्नेहरुलाई दोहो¥याइ, तेहे¥याइ लाभका पद दिने रोग नै प्रधानमन्त्री ओलीको छ । अहिले आफ्नो विपक्षको सेखी झार्न प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने प्रपञ्चमा प्रधानमन्त्री पुगेका छन ।
आफ्नो विपक्षमा रहेका सांसदलाई पनि हटाउने
आफ्नो सत्ता बलियो पार्न प्रधानमन्त्री ओलीले समानुपातिक साँसदहरुलाई पनि बलीको बोको बनाउन खोजिरहेका छन । पार्टीमा आफ्नो प्रस्तावको विपक्षमा जाने सबै समानुपातिक सांसदलाई हटाइदिने र आफ्ना निकटका लाई लैजाने तयारीमा प्रधानमन्त्री ओलीको समय बितिरहेको बुझिएको छ । यसका लागि उनले निर्वाचन आयोगका प्रमुखसँग छलफल गरिरहेका छन् । यसरी आफै सर्वेसर्वा हुने उनको प्रयासले सिङ्गो नेकपाको भविष्यलाई अरु संकटउन्मुख बनाउँदै लगेको छ ।
अन्तिम अस्त्र संसद विघटन र मध्यावधि चुनाव
प्रधानमन्त्री ओलीलाई थप स्वेच्छाचारी हर्कतका लागि कतिपयले उकासिरहेका छन् । आफ्नो अनुकूल जाने अवस्था नभएमा संसद विघटनसम्मको तयारीमा केपी ओली रहेका छन् । केपीले संसद विघटन गरे कसरी प्रतिवाद गर्ने भनेर प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् । संसद विघटनसम्म गरी मध्यावधि चुनाव गरेर देशलाई कुन दिशामा लाने भूत प्रधानमन्त्रीमा सवार हुँदै गएको हो भन्ने खुट्याउन राजनीतिक शास्त्रका पण्डितहरुलाई पनि महाभारत हुन थालेको छ ।
झिल्को डटकमबाट
