![]()
कृषिमन्त्री घनश्याम भुसालले देश बिगारेको राजनीतिज्ञले भएको, तर त्यसमा कर्मचारीको पनि उस्तै भूमिका रहेको बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का व्यवस्थापन तहका अधिकारीहरूसँगको छलफलमा उनले कृषि क्षेत्र प्रदूषित भएकाले यसको शुद्धीकरण आवश्यक रहेको बताए ।
उनले जिम्मा लिएका कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति हाबी भएको भन्दै काम गर्न नसक्ने हो भने त्यहाँबाट हटिदिनुपर्ने बताए । अब बहानाबाजी गरेर बस्ने समय नभएकाले परिणाममुखी कार्य सम्पदान गर्नुपर्नेमा उनको जोड थियो ।
उनले आफूलाई कृषि क्षेत्रको चौकीदार भएकोसमेत दाबी गरे । उनले भने, ‘म कृषि क्षेत्रको चौकीदार हुँ । कसैले यसभित्र पसेर बदमासी गर्न खोज्छ, तपाईंहरूलाई गलत काम गर्न दबाब दिन्छ भने मैले गेटबाटै तह लगाइदिन्छु । त्यसो भएपछि तपाईंहरूले त प्रभावकारी रूपमा काम गर्नुपऱ्याे नि ।’
उनले कृषि क्षेत्रमा राजनीति क्षेत्रबाट आउने हस्तक्षेप रोक्न आफू क्रियाशील हुने पनि बताए । उनले भने, ‘कसैले तपाईंहरूलाई अनावश्यक दबाब दिन्छ भने सीधै मलाई भन्नुहोस्, यस्ता सबै दबाबहरूलाई म तह लगाउँछु । त्यसो भएपछि तपाईंहरूले त परिणाम दिनुपऱ्याे नि ।’
मन्त्री भुसालले नार्कमा रहेको बेथिति देख्दा आफूलाई भाउन्न भएको बताउँदै अब त्यसरी नहुने बताए । ‘अब कुर्न सकिँदैन, जुनसुकै हालतमा पनि परिणाम चाहिन्छ,’ मन्त्री भुसालले भने । कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारी तथा निर्देशकहरू रामबहादुर केसी, डा. स्वयंप्रकाश श्रेष्ठ र नवीनप्रकाश पौडेलले नार्कका विभिन्न विषयमा कार्यपत्र पेस गरेका थिए ।
