Loading

काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले खुल्ला नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि उनको सचिवालयले गरेको छ ।

प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै शिष्टाचार भेट भएको सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, ‘रअ का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ। उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो।’

भेटका क्रममा ओली र गोयलबीच नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा कुराकानी भएको थापाले जानकारी दिए। गोयल बुधबार दिउँसो काठमाडौँ आएर २१ घण्टापछि बिहीबार बिहान फर्किएका छन्।

यसैबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ भनेर प्रकाशित समाचारको खण्डन गरेको छ ।

प्रचण्डको नीजि सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले उक्त समाचारप्रति सचिवालयको ध्यानाकर्षण भएको भन्दै संवेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गरेका छन् । साथै उनले आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील पनि गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गरिएको छ ।

यस्तै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले भारतीय गुप्तचर संस्था (रअ)का प्रमुखसँग भेट नभएको बताएका छन् ।

बिहीबार दिउँसो सामाजिक सञ्जाल ट्विटर नेता नेपालले यसबारेमा प्रष्ट पारेका हुन् । कतिपय सञ्चारमाध्यममा माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी आएका खबरमा सत्यता नभएको उनले बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन् ‘म र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोकल्पित र भ्रामक समाचारहरु प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरुको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’

उता प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले पनि भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलसँग देउवाको भेटवार्ता नभएको बताएको छ ।