![]()
काठमाडौं, २४ असोज । शनिबार थप ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुाट १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जुन २४ घण्टामा भेटिएका अहिलेसम्मकै उच्च संक्रमित संख्या हो ।
अहिले ३२१ जना आइसियुमा उपचाररत छन् भने ७७ जना भेन्टिलेटमा उपचाररत रहेका छन् । काठमाडौं लगायत, भक्तपुर, ललितपुर, मोरङ, चितवन, सुर्खेत, रुपन्देही जिल्लाहरु अहिले कोरोना संक्रमणका हटस्पट बनेका छन् ।
उपत्यकाको संक्रमण उच्चः
काठमाडौं उपत्यकाको संक्रमण दर समेत उच्च रहेको छ । शनिबार संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका दुई हजार ६७२ जना छन् । तीमध्ये काठमाडौंका दुई हजार १०० जना, ललितपुरका ३६९ जना र भक्तपुरका २०३ जना हुन् ।
थप १४ जनाको मृत्यु:
पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२२९ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ७४२५२ पुगेको छ।
