![]()
टीकापुर, ७ मंसिर / अछाम क्षेत्र नम्बर १ बाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले खाता खोलेको छ ।
नेकपा एकीकृत समाजवादीका नेता रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा विजयी भएसँगै एकीकृत समाजवादीको खाता खुलेको हो । कुँवर नेकपा एमालेका उम्मेद्वार झपट बहादुर बोहराभन्दा चार हजार ४८९ मत बढी ल्याएर विजयी भएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुँवरले १९ हजार ५३४ मत र निकटतम प्रतिद्वन्द्वी बोहराले १५ हजार ४५ मत प्राप्त गरेका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार राजन कुँवरले चार हजार तीन सय ९२ मत ल्याएर तेस्रो भएका छन् । यसैगरी हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्मा र स्वतन्त्रका उम्मेदवार महेन्द्र बोगटी १७१÷ १७१ मत र स्वतन्त्र उम्मेदवार हिक्मत कुँवरले १०२ मत प्राप्त गरेका हुन् । जम्मा खसेका ४१ हजार ३९२ मत मध्येमा एक हजार ९७७ मत बदर भएका हुन् ।
विजयी हुनुभएका कुँवर एमालेबाट २०६४ को संविधानसभा निर्वाचन सोही क्षेत्रबाट निर्वाचित भएका थिए बोहरा २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सोही क्षेत्रको ‘ख’ प्रदेशबाट निर्वाचित भएका थिए । कुँवर २०७४ को निर्वाचनपछि एमालेबाटै राष्ट्रियसभा सदस्य हाल समाजवादीबाट मन्त्री छन् । बोहरा भने माओवादीबाटै सुदूरपश्चिमको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । उनले माओवादी छोडेर एमाले हुँदा प्रदेश सभा सदस्य र मन्त्री पद गुमाएका थिए ।
अछाम–१ मा २०५१, २०६४, २०७०, २०७४ मा एमालेले प्रतिनिधित्व गरेको थियो भने २०४८, २०५६ मा काँग्रेस विजयी भएको थियो । २०६४ को संविधानसभापछि अछाम–१ मा निरन्तर वामपन्थीहरु निर्वाचनमा विजयी हुँदै आएका छन् । यसपटक अछाम १ बाट का लागि नेकपा एमालेको नगर, क्षेत्र, जिल्ला र प्रदेश समितिबाट प्रतिनिधि सभाको उम्मेद्वारका रुपमा एकल नाम सिफारिस भएका पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका एमालेका वरिष्ठ नेता भीमबहादुर रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले जोरी खेलेको, पार्टीको सरकार गिराएर विपक्षीको नेतृत्वमा सरकार बनाएको आरोप लगाउँदै उम्मेद्वार नबनाएर बोहरालाई बनाएका थिए । त्यसैको परिणाम बोहरा पराजित भई एकीकृत समाजवादीका कुँवर विजयी भएको बताइएको छ ।
