Loading

टीकापुर, ४ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । आइतबार निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयोगलाई धन्यवाद दिदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
ट्वीटरमार्फत् आयोगलाई धन्यवाद दिदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु।’’
त्यसैगरी प्रधानमन्त्री देउवाले निर्वाचन सफल पार्न खटिएका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार र पर्यवेक्षकलाई समेत धन्यवाद दिएका छन् । उनले ट्वीटमा थप लेखेका छन्, ‘‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्यवेक्षकमा धन्यवाद तथा आभार व्यक्त गर्दछु।’’

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत मतदाताहरुलाई धन्यवाद दिएका छन् । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् । ओलीले लेखेका छन्, ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं ।’