Loading

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पूर्वघोषणाअनुसार त्रिवि क्रिकेट मैदानका ‘ग्राउन्ड स्टाफ’लाई दिने १ लाख रुपैयाँ दिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)का खेल्न युएईमा रहेका सन्दीपले आफ्ना व्यवस्थापक रमन सिवाकोटीमार्फत टियू मैदानका ग्राउन्ड स्टाफ रकम आइतबार हस्तान्तरण गरे ।

ठूला चाडपर्व दसैं–तिहार नजिक आइरहेको र उनीहरूले नियमित पारिश्रमिक पनि नपाइरहेको अवस्थामा सानो सहयोगले ठूलो प्रभाव परोस् भनेर सन्दीपको सुझावअनुसार सहयोग हस्तान्तरण गरिएको हो सिवाकोटीले बताए ।

सन्दीपले दुई महिनाअघि क्यारेबियन प्रिमियर लिग खेल्न जानुअघि त्रिविका ग्राउन्ड स्टाफलाई १ लाख सहयोग गर्ने घोषणा गरेका थिए । क्यारेबियन प्रिमियर लिग अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म चलेको थियो । प्रतियोगितामा उनले जमैका तलाबाजबाट खेलेकामा १२ विकेट लिएका थिए ।

सन्दीप अहिले आईपीएलका लागि यूएईमा छन् र उनी फर्कन अझै एक महिनाभन्दा बढी लाग्नेछ । आईपीएलमा दिल्ली क्यापिटल्सका लागि तेस्रो सिजन खेलिरहेका सन्दीपले जारी सिजन अहिलेसम्म खेल्न पाएका छैनन् ।