![]()
जोशीपुर/कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनका उम्मेद्वार रामजनम चौधरीले गठबन्धनको सरकार बनेमा मात्र रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहा हुने बताएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका उनले शनिबार जोशीपुरमा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
पूर्वमन्त्री चौधरीले भने, ‘जबसम्म संविधान संशोधन हुँदैन तबसम्म हाम्रा साथीहरुको मुद्दा फिर्ता हुँदैन । कानून शंसोधनको लागि संसदमा दुई तिहाईको बहुमत चाहिन्छ । जबसम्म हालको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बहुमत ल्याउँदैन र पावरमा जाँदैन, तबसम्म बहुमतको सरकार बन्दैन । कानून संसोधन पनि हुँदैन ।’
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका चौधरी २०४८ सालदेखि जोशीपुर क्षेत्रबाट पटक–पटक साँसद बनेका ब्यक्ति हुन् । उनी कैलाली क्षेत्र नं ३ मा गत २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा मात्र एमाले नेता गौरीशंकर थारुसँग पहिलोपल्ट पराजित भएका थिए ।
अहिले पुनः कैलाली १ बाट सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका चौधरीलाई स्थानीय जनताले पत्याइहाल्ने अवस्था भने
छैन । टीकापुर घटनाका एक पात्र उनी पनि हुन् । तर सत्तामा रहेका कारण उनलाई उक्त घटनाको मुद्धा नलागेपछि घटना लगत्तै बनेको सरकारमा उनी स्वास्थ्य मन्त्री बनेका थिए ।
घटना लगत्तै उनले जातिय भडकावमा दिएका अभिब्यक्तिहरु अहिले पनि सञ्चारमाध्यममा संकलित छन् र यहाँका जनताका मनमा ताजै छन् । स्वास्थ्यमन्त्री हुँदा २०७२ भदौ ७ र ८ को घटना सम्बोधनको लागि आफू सरकारमा गएको उनले जिकिर गरेका छन् ।
