![]()
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गहुँ र चिनीमा लगाएको प्रतिवन्धबारे छिट्टै निकास निस्कने बताएका छन् ।
उनले यो प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको पनि बताएका छन् । उद्योग वाणिज्य संघ सुनसरीले शनिवार धरानमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन् । उनले गहुँ र चिनी आयातमा नेपाललाई उपलब्ध गराउने सहुलियतको बारेमा निकास निस्कने पनि बताए ।
‘यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ’, उनले भने, ‘हामी चाहन्छौं कि यसलाई अझै बढाउनुपर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ ।’ उनले नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्ने भारतको चाहना रहेको पनि बताए ।
उनले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको पनि बताए । भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै उनले वर्षाका कारण पुल निर्माण रोकिएको बताए । उनले उक्त पुल चाँडै नै निर्माण हुने प्रतिवद्धता पनि व्यक्त गरे । उनले पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको पनि बताए ।
