![]()
टीकापुर /टीकापुर नगरपालिकाका पूर्व वडाध्यक्ष कालुसिंह कडायतको ६९ वर्षको अल्पयायुमै मंगलबार असामयिक निधन भएको छ । बिहान पेट दुख्यो भनेर टीकापुर अस्पतालमा उपचारका लागि जानु भएका कडायतको थप उपचारका लागि नेपालगञ्जतर्फ लैजादै गर्दा निधन भएको हो ।
कैलालीको भजनी नगरपालिकास्थित हालको दुर्गा माध्यमिक विद्यालयमा ४० को दशकमा शिक्षण गर्नुभएका कडायत २०५० सालपछि सक्रिय राजनीतिमा होमिनु भएको थियो । शिक्षक संगठनमा आवद्ध रहेका कडायत नेकपा एमालेको एक सच्चा सिपाही हुनुहन्थ्यो । पार्टी विभाजन भएर माले भएपनि नेकपा एमालेमा रहेर संगठन बिस्तारमा लागेका कडायत सादगी नेता हुनुहुन्थ्यो ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा टीकापुर नगरपालिका वडा नम्बर ९ (हाल वडा १) को वडा सदस्यमा निर्वाचित भएपनि लगतै कार्यबाहक वडाध्यक्ष बन्नुभएको थियो । तत्कालिन वडाध्यक्ष सूर्यचन्द्र भट्टराई जिल्ला विकास समितिको क्षेत्रीय सदस्यमा उम्मेदवार बनेपछि रिक्त वडाध्यक्षमा कडायतले ६ वर्षसम्म कार्यबाहक वडाध्यक्षको रुपमा काम गर्नु भएको थियो ।
सादगीपूर्ण जीवन र सरल स्वभावका कारण समाजका प्रिय कडायत नेकपा एमालेको टीकापुर नगर कमिटी हुँदै हाल जिल्ला कमिटी सदस्य रहनुभएको थियो । उहाँको निधनले टीकापुर नगरपालिकाले एक इमान्दार असल नेता गुमाएको छ भने नेकपा एमालेले कैलालीले एक होनहार प्रतिवद्ध नेता गुमाएको छ ।
बुधबार कर्णाली नदीस्थित दौलतपुर घाटमा अन्तिम सँस्कार गर्ने तयारी भएकोले मंगलवार कडायतको पार्थीव शरीरलाई टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १० स्थित घरमा राखिएको छ । स्वर्गीय कडायतको जन्म अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर १ गवानी भएपनि अछामसँगै कैलालीको भजनी र त्यसपछि टीकापुरलाई उहाँले कर्मक्षेत्र बनाउनु भएको थियो ।
२०३६/०३७ सालमा शिक्षाशास्त्र अध्ययन संस्थान डोटी क्याम्पसमा १० महिने शिक्षक तालिमलिई शिक्षण सेवामा प्रवेश गरेका कडायत नेपाल राष्टिय शिक्षक संगठन अछामका सस्थापक सदस्य तथा एऊटा कुशल शिक्षक हुनुहुन्थ्यो । टीकापुर नगरपालिका वडा नं१ ब्लक नं ९ मा रहेको नवदुर्गा आधारभुत विद्यालयका संस्थापक विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रहेका उहाँ असल समाजसेवी समेत हुनुहुन्थ्यो ।
नेपा राष्टिय शिक्षक सँगठन कैलालीका भुतपुर्व अध्यक्ष भक्तिराम कोइरालाले फेसबुक स्टाटस जारी गर्दै इमान्दार शिक्षक तथा नेता कालुसिंह कडायतको निधनले स्तब्ध बनाएको बताउनुभएको छ । उहाँले आपूmहरु सँगै २०३६/०३७ शिक्षाशास्त्र संकायबाट १० महिने तालीम लिँदा भेट भएको बताउँदै उहाँको कर्तव्यनिष्ट बानीको बारेमा उल्लेख गर्नुभएको छ ।
