![]()
भजनी, २४ असोज । उज्यालो युवा क्लब भजनी नगरपालिका ५ कैलालीका युवाहरुको जनश्रमदान र घाट ठेकेदार भिम बि.क.को आर्थिक लगानीमा कन्द्रा नदीमा काठेपुल निर्माण भइरहेको छ ।
वडा नं ५ र ७ लाई भजनी नगरपालिकाको मुख्य बजार भजनीसंग जोड्ने कर्मदेव पडरिया घाटमा काठको पुल निर्माण भइरहेको हो । काठेपुल निर्माणपश्चात स्थानीयका साथै पैद्लयात्री, साईकल, मोटरसाइकल र अटोरिक्साको आवागमन सहज हुने बताइएको छ ।

बिगत एकदशकदेखि सो स्थानमा काठेपुल निर्माण गरी यात्रु र साना सवारी साधनहरुलाई आवागमनको सुविधा दिइएको हो । हुलाकी सडकको ठेकीमा सो नदीमा पुल निर्माणकार्य झण्डै एकदशक बित्न लाग्दा पनि हुन नसकेकोले स्थानीय र अन्य यात्रुहरुले निकै कठिनाई भोग्दै आउनु परेको हो ।
ठेकीपुलको आशामा बसेका साबिक लालबोझी गाविस र भजनी गाविसवासीको पक्की पुलको सपना केवल सपनामै सिमित भएको स्थानीय खडक बुडाले बताए ।
नजिकिदै गरेको दशैं र तिहारमा स्थानीय जनता र हुलाकी मार्गमा आवागमन गर्ने यात्रुलाई डुंगा तर्न सास्ती नहोस् भनेर काठको पुल निर्माण कार्यअघि बढेको स्थानीय घाट ठेकेदार भीम बिकले बताए ।
मुख्यमन्त्री माननीय त्रिलोचन भट्टको विकास अवलोकन भ्रमणका क्रममा साउन महिनामा पुल तयार गरेर भदौमा सवारीसाधन कुदाउने वाचा गरेको ठेकेदारले अहिलेसम्म पुल निर्माण कार्य पुरा नगरेपछि स्थानीयहरु चिन्तित भएका हुन् ।
हुलाकी सडकका अन्य सबै पुल निर्माण भएपनि कन्द्रा नदीमा रहेको ठेकीपुल निर्माण नभएकाले बाके, बर्दिया, भजनी हुँदै धनगढी तर्फ जाने यात्रीहरुले सास्ती भोग्नु परेको स्थानीय बुद्धिजीवि नारायण ओझाले बताए ।
अहिले बनिरहेको काठेपुलबाट धनगढीबाट भजनी हुदै बर्दियातर्फ आउनेजाने यात्रुका साथै स्थानीयलाई २४ औं घण्टा सेवा दिइनेछ ।
