![]()
नेपाली क्रिकेट टिम अहिले प्रशिक्षको पर्खाइमा छ । नेपाली टिमलाई विश्व स्तरीय प्रशिक्षक दिन नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षकका लागि विभिन्न मापदण्डसहित दखास्तान आव्हान गरेको छ । दरखास्त दिने मिति सकिएको छ । तर अहिलेसम्म को–कसले दरखास्त दिए भन्ने सर्वाजनिक गरिएको छैन ।
छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ अहिले चासोको विषय बनेको छ । रोय लुक डायस र पुबुदु दासानायकेलगायतले प्रशिक्षण दिइसकेको टि–२० विश्वकप खेलेको नेपाली टिमलाई त्यो भन्दापनि स्तरीय प्रशिक्षक चाहिएको छ ।
दुई दशकअघि श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली क्रिकेट टोली बामे सर्दै थियो । उनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा भिजाउन मिहिनेत गरेर क्रिकेटको बलियो जग बसालेसँगै अर्का प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटलाई नतिजा दिलाउन महत्त्वपूर्ण भूमिका खेले । त्यसपछि नेपालले विभिन्न डिभिजनका खेललाई पार गर्दै अहिले एकदिवसीय मान्यता पाएको छ ।
टी–२० विश्वकपमा पनि अनुभव बटुल्न सफल भयो, नेपाली टोली । उसो त अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा नेपाली टोलीलाई १३ विदेशी प्रशिक्षकले प्रशिक्षण दिइसकेका छन् । यो अवधिकमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा स्थान पनि बनाउन सफल भयो ।
पछिल्लो समय पाएको सफलतालाई जोगाउनका लागि आउँदो दिनमा अनुभवि र नेपाली टोलीलाई धेरैभन्दा धेरै मैत्रीपूर्ण खेलको तालमेल गर्ने प्रशिक्षक खाँचो भएको धेरैले औल्याउँदै आएका छन् । अहिलेको अवस्थामा नेपाली क्रिकेट टोलीका लागि अनुभवी र अन्तर्राष्ट्रिय स्तरमा बलियो प्रभाव भएको प्रशिक्षक आवश्यक भएको बताउँछन् ।
अहिले विश्व कोरोना महामारीको चपेटामा छ । क्रिकेट गतिविधि चलायमान हुन सकेका छैनन् । यो समय क्यानलाई नयाँ प्रशिक्षक खोज्ने उपयुक्त समय मिलेको छ । नेपाली टिमको प्रशिक्षक बनेर को आउला भन्ने चासो सर्बत्र बढ्दै गइरहेको अवस्थामा पूर्वकप्तान विनोद दासले भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हैसियत बनाएको नेपाललाई विश्व क्रिकेटलाई नजिकबाट बुझ्न सक्ने प्रशिक्षक आवश्यक भएको बताए ।
२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ । राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी तोकिएको छ । तर क्रिकेटको गतिविधि भने शून्य छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले अन्तर्राष्ट्रिय क्रिकेट प्रभावित गरिरहेको अवस्थामा क्यानले प्रशिक्षक र विभिन्न पदाधिकारीको नियुक्तिलाई सक्दो छिटो पूरा गरी क्रिकेटलाई चलायमान बनाउन यथाशीघ्र कदम चाल्नुपर्ने आवश्यक देखिएको छ ।
