![]()
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र तत्काल नबन्ने बताएका छन् ।
आज शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी केन्द्र तत्काल नबन्ने स्पष्ट बताएका छन् । यस्तै सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरू आएको भन्दै उनले त्यसको खण्डन गर्दै उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरूले छलफल नगरेको उल्लेख गरे ।
अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताए । उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणापत्र बनाउने विषयमा छलफल चलेको बताए ।
उनले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । हामीले समाजवादी केन्द्र बनाइहालौँ भनेर छलफल पनि गरेका छैनौँ । छलफल चलेको छ तर टुङ्गिसकेको छैन । जे भएपनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनु छ ।’
अध्यक्ष दाहालले वर्तमान सत्तारूढ गठबन्धन प्रदेश र सङ्घको चुनावसम्म कायम रहने बताए । उनले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म चुनावपछि पनि गठबन्धन कायम रहने बताए। गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने र नयाँ परिस्थिति बनाउने उनको भनाइ छ ।
सौर्य अनलाइनबाट
