![]()
काठमाडाैं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।
राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । राष्ट्रियसभामा पारित हुन कठिन हुने अनुमान गरिएपनि प्रतिपक्षी दलको ‘कर्मकाण्डी’ विरोधका बाबजुद बिहीबार पारित भएको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई पारित गरेको नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार पारित नागरिकता विधेयकमा सात बर्षे प्रावधान हटाउन पर्ने बाहेकका विषयमा एमालेको सहमति नै रहेको जानकारी दिए । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा सो विधेयक पठाइएको थियो ।
उक्त विधेयक विदेश महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउनेगरी नागरिकता दिने व्यवस्था गरेको छ । राष्ट्रपतिले प्रमाणित गरेसँगै यो विधेयक कानुनका रुपमा लागु हुनेछ ।
