![]()
धनकुटा, २७ असार । आफ्नै विद्यालयका छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षाक पक्राऊ परेका छन् ।
स्थानीय देउराली माविका शिक्षक चन्द्रकुमार राई आफैँले पढाउने छात्रालाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् । कक्षा ६ देखि १० सम्मका छात्रालाई यौन दुर्व्यवहारको आरोपमा उनीविरुद्व असार २६ गते उजुरी परेको थियो। विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटना असार २१ गते सार्वजनिक भएसँगै शिक्षक राई फरार भएका थिए।
असार २६ गते राति विद्यालय हाताबाटै पक्राउ परेका उनलाई विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीका अनुसार राईले विद्यालयका ११ वर्ष देखि १५ वर्ष उमेर समूहका छात्राहरूलाई मैयाँ भनेर जिस्क्याउने, ब्राको इलास्टिक तन्काइदिने, संवेदनशील अङ्गमा छुने, गालामा चिमोट्ने, कम्मरमा समातेर आफूतिर तान्ने, अश्लील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गरेको उजुरीमा उल्लेख छ।
