Loading

काठमाडौं/प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

नेपाल सरकार गृह मन्त्रालय ९मन्त्रीस्तर०को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा. सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपेश कुमार ठाकुरलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बिरामीलाई सेवा सुविधा तथा रोगको निदान गर्ने चिकित्सकको पेशागत धर्मलाई मनन गरी उनीहरूप्रति सदैव मर्यादित एवं देवतुल्य व्यवहार गर्नेतर्फ चनाखो हुनुपर्ने बताउनुभयो । पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाई संगठनले खोजेको र सेवाग्राहीले पाउने उपचार पद्धतीलाई अझै उत्कृष्ट बनाउन आ-आफ्नो तर्फबाट पहल गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सरुवा बढुवा लगायत सेवा सुविधाका लागि संगठनमा एउटा प्रणाली विकसित गरिएको चर्चा गर्दै हरेक प्रहरी कर्मचारीलाई नियम कानुन बमोजिम न्याय दिने संगठनको ध्येय रहेको बताउनुभयो । प्रहरी अस्पतालको सेवा तथा चिकित्सकको व्यवहारलाई स्मरणयोग्य बनाउनुपर्नेमा जोड दिनुपर्ने उल्लेख गर्दै पदोन्नती भएका प्रहरी अधिकृतहरूको व्यावसायिक सफलताको कामना समेत उहाँले गर्नुभयो ।

पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक डा. सञ्जय बिक्रम श्रेष्ठले पदोनन्तिले जे जति खुसी र गौरव प्रदान गरेको छ त्यो भन्दा बढी जिम्मेवारी बोध भएकोले जिम्मेवारीलाई हृदयदेखि मनन गरी पेशागत कार्यक्षमताका साथ उत्कृष्ट ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक्राउ
काठमाडौं/ जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका-२ ठेगाना भएका ५० वर्षीय टक बहादुर लामिछानेलाई पुस ११ गते प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-४ लोलाङ हाईटबाट पक्राउ गरेको छ ।
काठमाडौं नयाँबजार डेरा गरी बस्ने पीडित महिलाको श्रीमान बिरामी भई घरमा गएको मौकामा टेक बहादुरले ती महिलालाई श्रीमती बनाउँछु, दुस्ख गर्नु पर्दैन भन्दै ललाई फकाई २०४९ जेठ ३० गते धनकुटा लैजाने भन्दै काकँडभिट्टा हुँदै भारतको नयाँदिल्ली पुर्‍याको र २ जना महिलालाई जिम्मा लगाई ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरेको थाहा पाएपछि उनी बाटोबाटै भाग्न सफल भई २०४९ असार १६ गते नेपाल फर्केर २०४९ कात्तिक २६ गते टेक बहादुर विरुद्ध जिल्ला प्रहरी काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् ।

सो मुद्दाको अनुसन्धानको क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो ववरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।