Loading

काठमाडौं । नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।

काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो । मंसिर २४-२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो ।

यसअघि पदाधिकारीमा रहेकाहरुलाई वरीयतामा माथि राखिएको छ ।

कांग्रेसमा सभापतिले ३३ जना मनोनित गर्न बाँकी नै रहेकाले नयाँ सदस्यहरु थपिएपछि कतिपयको वरियता तलमाथि हुन सक्ने सम्भावना छ । कांग्रेसको वरीयतामा सभापति शेरबहादुर देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो । महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् ।

सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् । केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् । उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ । वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् ।

सुनिल थापा भन्दा शेखर कोइराला पछाडि

नेपाली कांग्रेसले जारी गरेको सूची अनुसार सभापतिमा पराजित शेखर कोइरालाको भन्दा सुनिल थापा अगाडि रहेका छन् ।

थापा वरीयताको १९ औं नम्बरमा हुँदा कोइराला २० औं नम्बरमा रहेका छन् । थापा २०७७ साउन १३ गते राप्रपाको महामन्त्री छाडेर कांग्रेस प्रवेश गरेका थिए भने कांग्रेसमा उनी सहमहामन्त्री बनेका थिए।

यसअघि सभापतिमा पराजित हुने पहिलो नम्बरका उम्मेद्वार दोस्रो बरियता हुने प्रचलन थियो । सोही प्रचलन अनुसार यसअघि शेरबहादुर देउवासँग पराजित भएका रामचन्द्र पौडेल दोस्रो बरियतामा थिए । त्यस्तै गिरजाप्रसाद कोइरालासँग पराजित भएका शेरबहादुर देउवा पनि दोस्रो बरियतामा थिए ।

तर यसपटक पार्टीभित्र अर्को समूहलाई पेल्ने शैलीमा शेखर कोइरालालाई २० औं नम्बरमा राखिएको छ । यस्ले नेपाली काँग्रेसमा निकै कटुता ल्याउने र यस्को प्रभाव आगामी आम निर्वाचन र पार्टीको निर्वाचनपछि पनि पर्ने बताइएको छ ।