Loading

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरूलाई उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग बन्द हुने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गरेकी छिन् ।

आज बिहीवार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग बिजुली आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले व्यवसायीले उद्योग स्थापना गर्दा बिजुली नपाएर उद्योग नै नचल्ने हो कि भन्ने शङ्का नगरिकन उद्योगमा लगानी गर्न आग्रह गरेकी हुन् ।

मन्त्री भुसालले विभिन्न उद्योगमा बिजुली आपूर्तिका समस्या रहेको तर प्राधिकरणले समस्या समाधानका लागि काम गरिरहेको बताइन् । उनले सरकारले तत्काल बिजुली महसुस सस्तो दिन सक्ने अवस्था नभएको बताइन् । उनले उद्योग सञ्चालनमा बिजुलीको गुणस्तर नपुग्ने समस्यालाई प्राधिकरणले गुणस्तर क्षमता बढाएर बिजुली दिने वातावरण बनाउने बताइन्। मन्त्री भुसालले बिजुली उत्पादन उद्योगहरूको क्षमताभन्दा धेरै रहेको बताइन् । उनले उद्योगी व्यवसायीहरू अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएकाले नेपालमा ऊर्जा खपत गर्ने उद्योग ल्याउनका लागि पहल गर्नसमेत आग्रह गरिन् । उनले उद्योगहरूको हकमा बिजुली महसुल महँगो भएको स्वीकार गरिन् ।

मन्त्री भुसालले, ‘सरकारले बिजुलीको महसुल कम गर्ने योजना बनाइरहेको छ । उद्योगहरूमा पनि बिस्तारै सस्तो महसुलमा ऊर्जा खपत गर्ने वातावरण बनाउछौँ । तर तत्काल व्यवसायीहरूले भने जस्तो तत्काल यति नै सस्तो बनाउँछौँ भन्ने अवस्था छैन । त्योभन्दा अहिले उद्योगहरूलाई जरिबाना लगायतका कुरामा छुट दिन सकिन्छ । बिजुलीको महसुल उद्योगहरूमा महँगो भएको छ । किनकि बैंकबाट ऋण लिएर महँगो ब्याज तिरेर मात्रै बिजुलीमा लगानी गरी उत्पादन गरेका कारण केही महँगो नै भएको छ । महँगो भए पनि नेपालमा उत्पादन भए बिजुली नेपालमा नै खपत गर्नुपर्ने अवस्था छ । त्यसैले व्यवसायीहरूले उद्योगमा लगानी गर्दा बिजुली नपाएर उद्योग बन्द होला कि भन्ने शङ्का गर्नुपर्दैन ’ बताइन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सर्भिस डेलिभरीको विषयमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । उनले धेरै उद्योगी व्यवसायीहरूले प्राधिकरणको बिजुली सेवा कमजोर भएको गुनासो आएको बताए । निर्देशक घिसिङले सर्भिस डेलिभरीका विषयमा प्राधिकरणलाई सम्पर्क गर्न आग्रह बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योगहरूले प्राधिकरणको बिजुली गुणस्तर नभएको बताए । उनले स्टिल उद्योगहरूमा गुणस्तरीय बिजुली नहुँदा समस्या भइरहेको बताए । राति उद्योग सञ्चालन गर्दा विद्युत् महसुल सस्तो पर्ने भनेर उद्योग सञ्चालन गर्दा पनि ४० पटकसम्म बिजुली कटौती हुने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

उनले उद्योग सञ्चालन गरिरहँदा बिजुली बारम्बार कटौती हुँदा धेरै नोक्सानी भोग्दै आउनुपरेको बताए । उनले गुणस्तरीय बिजुली नहुँदा सामान पनि गुणस्तरीय उत्पादन नहुने र समय त्यतिकै खेर जाने गरेको बताए ।