![]()
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार (आज) अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् । सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका छन् ।
महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन् । महत र पौडेल सभापति देउवा, रिजाल र थापा कोइराला, शर्मा प्रकाशमान सिंह र कार्कीले निधि प्यानलबाट उम्मेदवारी दिएका छन् ।
त्यस्तै ८ सहमहामन्त्री पदका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् । देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।
सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् ।
त्यस्तै खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दिएका छन् ।
खुल्लासहित १८ कलस्टरबाट निर्वाचनमार्फत १२१ जना निर्वाचित गरिने कांग्रेसको विधानमा उल्लेख छ । थारू कलस्टरबाट निर्वाचित हुने दुई महिलासहित चार सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फबाट निर्वाचित हुने ३५ जनाका लागि १०९जनाको उम्मेदवारी परेको छ ।
मधेशी कलस्टरबाट निर्वाचित हुने चार महिलासहित नौ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ । सात महिलासहित १५ जनाको कोटा रहेको आदिवासी जनजाति कलस्टरमा ८७ जनाको उम्मेदवारी परेको छ भने ६ महिलासहित १३ जनाको कोटा रहेको खसआर्य कलस्टरमा ९३ जनाको उम्मेदवारी परेको छ ।
चार महिलासहित नौ दलित सदस्यका लागि ३९ जना, खुलातर्फ नौ महिला कोटाका लागि ३१ र एक पिछडिएको क्षेत्रका लागि दुई जनाको उम्मेदवारी परेको छ । अपांगता भएका व्यक्तिको एक जनाको कोटामा १६ जनाको उम्मेदवारी परेको छ भने एक जनाकै कोटा रहेको अल्पसंख्यकमा ६ जना र एक महिलासहित तीन जनाको कोटा रहेको मुस्लिम कलस्टरबाट १६ जनाकाृे उम्मेदवारी परेको छ ।
भौगोलिक क्षेत्रबाट सात प्रदेशबाट महिलासहित २१ जनाको प्रतिनिधित्व हुनुपर्नेमा प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट पाँच जना, बाग्मती प्रदेशबाट नौ जना, गण्डकीबाट सात जना, लुम्बिनीबाट ११ जना, कर्णालीबाट सात जना र सुदूरपश्चिम प्रदेशबाट १२ जनाको उम्मेदवारी परेको छ ।
