Loading

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेन्डा उल्ट्याउने षड्यन्त्रअनुसार नै भएको बताएका छन् ।

माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार नै प्रतिनिधि सभा विघटन गरिएको बताउँदै उनले माओवादी रहँदासम्म परिवर्तनका एजेन्डा कायमै रहन्छ भन्ने भयका कारण प्रतिनिधि सभा विघटन गरिएको भए पनि आफूहरूले नेपाली नागरिकका साथमा त्यस्ता गलत प्रवृत्ति परास्त गरेको उल्लेख गरे ।

क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरू आन्दोलनमा आएका कारण प्रतिगमन परास्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान विरोधी गतिविधि परास्त भएको उल्लेख गरे ।

आज बिहीवार पार्टी सम्बद्ध अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले आफूसमेत मिलेर गठन गरेको पार्टी गलत दिशामा गएर नागरिकका अधिकार उल्ट्याउन खोजिएका कारण आफूहरूले सशक्त प्रतिवाद गरेको बताए ।

पार्टीका कार्यकर्ता नबिग्रिएको तर शीर्ष स्थानमा रहेका नेतामा नै समस्या रहेको भन्दै अध्यक्ष दाहालले अब नयाँ सङ्कल्पसहित विगतको गलत अभ्यासबाट मुक्त भएर अगाडि बढ्ने सङ्कल्प आफूहरूले गरेको बताए ।

शहीद तथा बेपत्ता परिवारलाई थप एकीकृत बनाएर लैजाने तयारीमा आफू रहेको उल्लेख गर्दै उनले विगतको शहादतको उचित मूल्याङ्कन हुने स्पष्ट पारे । नेपाली नागरिकको अधिकारका लागि गरेको त्यागका आधारमा राजनीतिक अधिकार प्राप्त भए पनि शहीदको सपना भने पूर्णरूपमा प्राप्त हुन भने नसकेको उनले उल्लेख गरे ।