![]()
काठमाडौं । भैरहवा ग्लाडियटर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा भैरहवाले विराटनगर वारियर्समाथि ६ विकेटको जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । भैरहवाका लागि उपल थरंगाले अविजित सर्वाधिक ३४ रनको योगदान गरे । ३५ बल खेलेका उनले चार चौका प्रहार गरे ।
त्यस्तै, प्रदीप ऐरीले २२ रन जोड्दा तमिम इक्वाल र रोहित पौड्यलले समान १२/१२ रन बनाए । बलिङतर्फ विराटनगरका लागि रामनरेश गिरीले दुई विकेट लिए । त्यस्तै, करण केसी र वसन्त रेग्मीले समान एक/एक विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर ८९ रनमा अलआउट भएको थियो । आफ्नो तेस्रो खेलमा विराटनगरले १७ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ८९ रन बनाएको हो ।
विराटनगरका लागि लिल्सान मुनाविराले सर्वाधिक २५ रनको योगदान गरे । उनले २० बलमा दुई चौका र एक छक्का प्रहार गरे । विराटनगरका लागि सुमित महर्जनले १३ रन बनाउँदा आसिफ शेख र अनिल शाहले ११ रन जोडे । बलिङतर्फ धमिका प्रसाद र आरिफ शेखले समान तीन/तीन विकेट लिए । त्यस्तै, अविनाश बोहोराले दुई विकेट लिँदा दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान एक/एक विकेट लिए । जितसँगै भैरहवाले २ खेलबाट ३ अंक जोडेको छ । विराटनगर भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।
