![]()
प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ
पर्सा, ५ असोज / प्रतिलिपि अधिकार ऐन विरूद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका-८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मसला उद्योगमा बढी नाफा कमाउने उदेस्यले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगंज महानगर तथा अन्य स्थानहरूमा बिक्री बितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट समेतबाट खटिएको प्रहरीले उक्त अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६ सय ५४ पोका, कच्चा मसलाहरू १० बोरा, मसला पिस्ने मेसिन १ थान र चाटकर उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू बरामद गरी उनलाई पक्राउ गरेको हो ।
उनी उपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाएको उक्त कार्यालयले जनाएको छ ।
भरुवा बन्दुक सहित ५ जना पक्राउ
सिन्धुली, ५ असोज / दुधौली नगरपालिका-२ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित सोही ठाउँ जलकिनी बस्ने ५० वर्षीय नुर बहादुर बस्नेत लगायत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा बस्नेतको घर र गोठ तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा १ जनाको मृत्यु
सप्तरी, ५ असोज / खडक नगरपालिका-६ विरपुरस्थित सडकमा बा.१४ च ६२७९ नम्बरको पिकअप र ना.३७ प ३८९४ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको युनिभर्सल अस्पताल कल्याणपुर हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका पिकअप चालकको प्रहरीले खोजी गरिरेहको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
कञ्चनपुर, ५ असोज / सुक्लाफाँटा नगरपालिका(१० झलारी बस्ने २७ वर्षीया लक्ष्मी कुँवरको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ ।
आफ्नै घरमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जंगली हात्तीले कुल्चेर मृत्यु
सुनसरी, ५ असोज / बराहक्षेत्र नगरपालिका(११ खत्वे टोल बस्ने ६५ वर्षीया ममनी देवी खत्वेको जंगली हात्तीले कुल्चेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित बारीमा घाँस काट्ने क्रममा वन्यजन्तु आरक्षणबाट अचानक आएको जंगली हात्तीले शरीरको विभिन्न भागमा कुल्चन जाँदा घाइते भएकी उनको घरतर्फ ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं, ५ असोज / कैलाली, जानकी गाउँपालिका-९ शिवशक्ति सामुदायिक वन पछाडि कर्णाली नदीको किनारमा करिब ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-१६ नरेनापुरस्थित दानव खोलाले बगाइ ल्याएको अवस्थामा करिब १८ महिनाको बालक सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
चितवन, ५ असोज / भरतपुर महानगरपालिका-७ पन्चोश्वरी टोलस्थित सुरेश बास्तोलाको घरबाट मूलगेटको ताल्चा फुटाई सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ ।
चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरेहको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
सिराहा, ५ असोज / गोलबजार नगरपालिका-६ सैनिक टोल बस्ने साने कुमार महतोले संचालन गरेको रबिन्द्र एण्ड रनबिर जनरल स्टोरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा नगद ४ हजार रुपैयाँ तथा विभिन्न किराना सामानहरु जलेर करिब १० लाख रूपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीयबासिन्दा, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
