Loading

काठमाडौ । एक बर्षमा ५० अर्ब ४ करोड रुपैयाँको चामल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा भित्रिएको चामल अघिल्लो आर्थिक वर्षको तुलनामा ५१ प्रतिशत बढी हो । प्रत्येक बर्ष चामल आयत गर्ने क्रम बढ्दो अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा ३२ अर्ब २१ करोड रुपैयाँको चामल भित्रिएकोमा आर्थिक वर्ष २०७६÷७७ मा ३३ अर्ब ३५ करोडको चामल भित्रिएको तथ्यांकले देखाएको छ । रकमका आधारमा कृषिप्रधान देश नेपालमा सबैभन्दा बढी आयात हुने बस्तुमध्ये चामल छैटौं स्थानमा रहेको छ ।

पेट्रोलियम पदार्थ आयातका लागि नेपालले सबैभन्दा धेरै रकम खर्च गरेको पनि तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष १ खर्ब ७५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । कुल आयात हुने बस्तुहरुमध्ये पेट्रोलियम पदार्थको हिस्सा ११ दशमलब ४ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७ दशमलब २ प्रतिशत बढी रकमको पेट्रोलियम पदार्थ आयात भएको हो । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढ्दा आयात बढी देखिने गर्दछ । धेरै आयात हुने बस्तुको दोश्रो सुचीमा सवारीसाधन, तिनका पार्टपूर्जा तथा टायर रहेका छन । यो शिर्षकमा गत आर्थिक वर्ष १ खर्ब २३ अर्ब रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सवारीसाधन तथा पार्टसपुर्जाको आयात ४७ प्रतिशतले बढेको देखिएको छ ।

अन्य मेसिनरी तथा पार्टपूर्जा आयातका हिसावले तेस्रो स्थानमा परेको छ । गत आर्थिक वर्षमा कुल ८० अर्ब ७१ करोड रुपैयाँको मेसिनरी तथा पार्टपूर्जा आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यसको आयात २० प्रतिशत बढी हो । त्यस्तै डण्डी उत्पादनका लागि उद्योगले प्रयोग गर्ने एमएस बिलेट उच्च आयातका आधारमा चौथो स्थानमा रहेको छ । गत आर्थिक वर्ष ७१ अर्ब ५२ करोड रुपैयाँको एमएस बिलेट आयात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ६९ प्रतिशत बढी हो ।

उच्च आयात हुने बस्ुतमा कच्चा सोयाबिन तेल पाँचौ स्थानमा रहेको छ । गत आर्थिक वर्ष यसको आयातमा ५३ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको थियो । जुन त्यो भन्दा अघिको तुलनामा १ सय ८४ प्रतिशत बढी हो । छैंटौं स्थानको चामलपछि धेरै आयात हुने सातौं नम्वरमा औषधि परेको छ । गत आर्थिक वर्ष ३९ अर्ब ५७ करोड रुपैयाँको औषधि भित्रिएको छ । जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत बढी हो । यो संगै आठौ, नवौ र दशै स्थानमा टेलिकम्युनिकेसन इक्वीपमेन्ट, पार्टस,गार्मेन्ट्स र सुन आयात रहेको भन्सार बिभागले सार्वजनिक गरेको तथ्याकंले देखाएको छ ।

निर्यात ब्यापार बढ्यो
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा नेपालबाट हुने निर्यात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको अन्तर्राष्ट्रिय व्यापारमा उल्लेख्य वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार साउनमा अघिल्लो वर्षको यही अवधिको तुलनामा नेपाली वस्तुको निर्यात शतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । अघिल्लो वर्षको साउनमा ९ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा २० अर्ब ७६ करोड रुपैयाँको वस्तु निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

विभागको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । भटमास पछि पाम र सूर्यमुखी तेलको निर्यात बढेको छ । यस अवधिमा आयात समेत ७५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा ८५ अर्ब ८० करोडको आयात भएकोमा यो वर्ष बढेर १ खर्ब ५० अर्ब ७३ करोड बराबरको वस्तु आयात भएको छ ।

यो अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । विभागका अनुसार १५ अर्ब १ करोडको डिजेल, पेट्रोल तथा खाना पकाउने ग्यासको आयात भएको छ । यसैगरी, मोबाइलको आयातसमेत उच्च छ । आयात हुने बस्तुमा फलाम, खाद्य सामग्री, ल्यापटपलगायत वस्तु पनि अधिक रहेका छन ।

सौर्य अनलाइनबाट