Loading

काठमाडौं, १० भदौ / कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार २ सय ४७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ३२ हजार ३ सय ६० जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ४२ जनालाई १४ हजार २ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार ५ सय ५ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १ सय ४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १४ हजार २ सय ४९ जनालाई सचेत गराइएको छ ।

१ थान भरुवा बन्दुक सहित पक्राउ

यस्तै कैलालीको मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैशीलाई १ थान एक नाले भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गंगाराम सेतीखोर गाउँको जंगलमा भरुवा बन्दुक सहित हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ

यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ६० ट्याब्लेट नाईट्राभेट र १ बोतल कोडिवेल सहित सर्लाही ईश्‍वरपुर नगरपालिका-२३ श्रीनगर बस्ने २४ वर्षीय नजाम अन्सारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ४८०० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार नजामलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

         यस्तै नवलपरासी(पश्चिम)को प्रतापपुर गाउँपालिका-४ बर्दघाटबाट करिब १० केजी अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित भारत उत्तर प्रदेश भगतपुरवा बस्ने ३७ वर्षीय राजेश यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाचपेडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनको झोलाभित्र पत्रिका र टेपले बेरेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

         यस्तै बर्दियाको गुलरिया नगरपालिका-११ लालपुर चौराहबाट नियन्त्रित लागूऔषध ५४ ट्याब्लेट नाईट्राभेट सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेरुवा गाउँपालिका-३ बस्ने २३ वर्षीय अमित बिक र सोही गाउँपालिका-२ बनघुस्री बस्ने २३ वर्षीय राजेश थारु रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अमितलाई ३९ र राजेशलाई १५ ट्याब्लेट गरी उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।  

          यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट नियन्त्रित लागूऔषध ७८ ट्याब्लेट नाईट्राभेट सहित सोही नगरपालिका-४ बस्ने २४ वर्षीय छबिलाल गिरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ ह ५१२४ नम्बरको अटोलाई प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अटोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नदीले बगाउँदा १ जनाको मृत्यु

यस्तै कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरास्थित चरेला नदीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुनीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

लुगा धुन गएको अवस्थामा उक्त नदीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा घटनास्थलबाट करिब ७ सय मिटर टाढा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

यस्तै सुनसरीको ईनरुवा नगरपालिका-३ बस्ने ६१ वर्षीय राम आचार्य आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बेलुका खाना खाई सुतेका उनी बिहान अवेरसम्म नउठेपछि आफन्तले झ्याल खोली हेर्दा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पहिरोले सडक अवरोध

यस्तै अर्घाखाँचीको सितगंगा नगरपालिका-१२ बसेरीस्थित गोरुसिङगे-सन्धिखर्क सडकखण्ड बिहीबार बिहानको पहिरोले अवरोध भएको छ । पहिरो खस्दा सडक पूर्णरुपमा अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडामाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।