Loading

पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

पार्टी विभाजन गर्ने तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले सेतोपाटीलाई बताए।

एमाले सचेतक शान्ता चौधरीले उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन्।

 

यी हुन् कारवाहीमा पर्ने सांसदहरू
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव
१४. कलिला खातुन

अजय शाही र विमला वलीलाई पदमुक्त गर्न एमालेको पत्र

यस्तै  नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ ।

सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए । शाही प्रदेश सरकारका विना विभागीयमन्त्री हुन् ।

शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिह्न लिएर निर्वाचित भएका थिए भने वली २०७६ मा तत्कालीन नेकपाका तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन् भने वलीले माओवादीमा प्रवेश गरेको बताएकी छन् ।