![]()
कास्की । साहित्यकार नारायण मरासिनीको नवीनतम कथासंग्रह ‘बिहेको निम्तो’ प्रकाशित भएको छ ।
गण्डकी साहित्य संगम पोखराले प्रकाशन गरेको उक्त संग्रहमा समसामयिक परिवेशका यथार्थपरक कथा रहेका छन् । १५ वटा कथा रहेको यस संग्रहभित्र समकालीन नेपाली समाजका आडम्बर, बिडम्बना र विसंगति अनि राजनीतिमा आएको स्खलन र मूल्यहीनतालाई प्रस्तुत गरिएको छ ।
संगमका अध्यक्ष डा. कृष्णराज अधिकारीले राजनीतिक सामाजिक परिवेशलाई आफ्नो जीवन भोगाइको सापेक्षतामा प्रस्तुत गरिएका यी कथाहरुले सामाजिक यथार्थलाई उजागर गर्दै त्यसप्रतिको आलोचनात्मक दृष्टिकोण अघि सारेको उल्लेख गरेका छन् ।
उनले प्रकाशकीयमा लेखेका छन्, ‘यहाँ कथाहरु पढ्दा कतिपयलाई आफ्नै कथा पढेजस्तो अनुभूति हुन्छ । यसैले यो संग्रह पाठकको मन जित्न सफल हुनेछ भन्ने हामीलाई विश्वास लागेको छ ।’ गण्डकी साहित्य संगमले लामो समयदेखि क्रियाशील रहँदै कविता, मुक्तक, खण्डकाव्य र लघुकथा संग्रह प्रकाशन गरिसकेका मरासिनी यसपटक कथाकारका रुपमा उपस्थित भएका छन् ।
कथाकार मरासिनीले आफ्नो परिवेशमा देखे भोगेका विषयलाई कथाको रुप दिएको बताए । उनले भूमिकामा लेखेका छन्, ‘मैले मेरो परिवेशमा जे देखेँ, जे भोगेँ त्यसलाई कथाको रुपमा दिएको हुँ । वर्तमानबाट असन्तुष्ट भएकै कारण मैले कथा लेखेको हुँ । वर्तमानको तुवाँलो हटेर उज्यालो भविष्य देख्न पाइयोस् भन्ने कामनाका साथ सिर्जित यी कथामा मैले यथासम्भव वर्तमानलाई प्रस्तुत गर्दै सुन्दर भविष्य खोज्ने प्रयत्न गरेको छु ।’
उनले आफू बाँचेको परिवेशमा मानिसहरु कम र अमानिसहरु बढी रहेको जिकिर गर्दै संग्रहमा रहेका कथाहरुमार्फत अमानिसको भीडमा मानिस खोज्ने प्रयत्न गरेको उल्लेख गरेका छन् । संग्रहभित्र कमरेडको डायरी, अनिदो रात, प्रोफेसर साहेबको कार्यपत्र, बाटामा भेटिएकर ियुवती, प्रोफेसर भीमबहादुर, कथाकारको कथा, बिहेको निम्तो, प्रमुख अतिथिको मूल्य, समृद्धि, सूचना !, औँठी बेरुवाको, फुर्के, बाँसुरीको धुन, अध्यक्षको घर र छोराको कमाइ शीर्षकका कथा रहेका छन् ।
मरासिनीका यसअघि तीजको कोसेली (तीजका गीत सँगालो २०५०), समयका धब्बाहरु (मुक्तकसंग्रह), साने खण्डकाव्य), रणभूमिबाट (कवितासंग्रह), हेडसरका कथाहरु (लघुकथासंग्रह) प्रकाशित भइसकेका छन् ।
