![]()
काठमाडौं । २०८औं भानुजयन्ती भानुभक्तीय रामायणका पद्यांश तथा अन्य कविबाट पद्य एवं गद्य कविता वाचन गरी सम्पन्न भएको छ ।
नेपाली जनकल्याण समिति, दासनगर–५, हावडा कोलकाताको आयोजनामा भएको कार्यक्रममा भर्चुअल रुपमा गरिएको थियो । कार्यक्रममा कवि मायादेवी अर्याल (८९), प्रह्लाद पोखरेल, डा बमबहादुर जिताली, शैलेन्दुप्रकाश नेपाल, खोलाघरे साहिँलो, मुरारी सिग्देल, देवेन्द्र केसी, वीरबहादुर लोहनी, ध्रुव पौडेल, सूर्यकुमार पण्डित, गिरिराज जोशी, टेकबहादुर लौडारी, चन्द्रमणि अधिकारी, सूर्यवदना पण्डित लगायतले भानुका रचना तथा आआफ्ना पद्य रचना वाचन गरेका थिए ।
यस्तै, टीकारामगोपाल भित्रीकोटी, अनुपकुमार भेटुवाल, डा किस्मत भण्डारी (क्यानडा), शिलु शर्मा, चित्रा पौडेल लगायतका स्रष्टाले आ–आफ्ना गद्यकविता वाचन गरेका थिए । कवि राजेन्द्र गुरागाईँले बंगाली भाषामा भानुसम्बन्धी कविता वाचन सुनाएका थिए ।
सो कार्यक्रम कवि ऋषभ घिमिरेले संयोजन गरेका थिए । कार्यक्रममा समितिका सल्लाहकार धर्मराज बरालले समितिले करिब २० वर्षदेखि भानुजयन्तीलगायत कार्यक्रम गरी नेपाल र भारत तथा नेपाली र भारतीय नेपालीलाई जोड्ने तथा एकता गराउने महत्वपूर्ण भूमिका खेलेको बताए ।
समितिका अध्यक्ष बद्रीविक्रम थापा र महासचिव रामबहादुर कार्कीले समितिले कोलकातामा नेपाली समुदायबीच साहित्य, संस्कृति तथा मानवीय कार्य गरिरहेको जानकारी दिए । भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले आदिकविको भूमिका तथा कोलकाता र नेपालको साहित्यिक सम्बन्धबारे प्रकाश पारेका थिए ।
कवि एवं अनुवादक युयुत्सु आरडी शर्मा, रामायण धमला, तिलकराम शर्मा, मनबहादुर श्रेष्ठले कार्यक्रमलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिले संस्थागत रुपमा सन् १९९७ देखि भानुजयन्ती मनाउँदै आएको छ । संस्थाले वार्षिक रुपमा साहित्यिक ‘बिहानी’ पत्रिकासमेत प्रकाशित गर्दै आएको छ ।
